images
images

जिल्ला जिल्लामा यसरी हुँदै छ निर्वाचन तयारी

प्रदेश नं. ५ का जिल्लामा स्थानीय तहको निर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र छपाइको काम भइरहेको छ । मतदाता शिक्षा र प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहका अनुसार देशका आठ स्थानमा मतदाता शिक्षाका लागि क्षेत्रीय स्तरका प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएका छन् । यसपछि जिल्ला स्तरमा प्रशिक्षण हुने उनले बताए । नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, प्युठानका निर्वाचन कार्यालयका प्रमुखसहित ३१ जना सहभागी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आयुक्त शाह बुटवल आएका हुन् ।

आयुक्त शाहका अनुसार शुक्रबारसम्मा १२ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भइसकेको छ । छपाइको काम तीव्र रूपमा भइरहेको छ । त्यस्तै, मतपत्रमा कुनै जिल्लाका लागि कम चिह्न प्रयोग हुने र कुनैमा बढी हुने भएकाले सातवटा समूहमा मतपत्र छपाइएको छ । उनले निर्वाचनको तयारीका क्रममा आयोगले मतपेटिका खरिदको प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए ।

रुपन्देहीमा यस्तो छ तयारी

रुपन्देहीमा निर्वाचन कार्यालयले दुई सय ६ वटा मतदानस्थल कायम गर्ने सिफारिस आयोगमा पठाएको छ । ती स्थलमा पाँच सय १६ भन्दा बढी मतदान केन्द्र रहने जिल्ला निर्वाचन प्रमुख हुमनाथ गौतमले जानकारी दिए । संविधानसभा दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ८८ हजार मतदाता थिए । एउटा मतदान केन्द्रमा आठजनाका दरले चार हजारभन्दा बढी कर्मचारी खटिने गौतमले बताए ।

नवलपरासीमा यस्तो छ तयारी

नवलपरासीमा १५ वटा मधेसी दलसहित ३२ दल दर्ता छन् । त्यस्तै, दुई सय ३५ मतदानस्थलमा चार सय ९० केन्द्र तय भएका छन् । जिल्लामा तीन लाख ७६ हजार पाँच सय ८४ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार जिल्लामा निर्वाचन नै भाँड्नेखालका कुनै पनि गतिविधि भएका छैनन् । जिल्लामा मतदानस्थल तय गर्न बसेको बैठक भने मधेसी दलले बहिस्कार गरेका थिए ।

अर्घाखाँचीमा पनि तयारी तीव्र

जिल्लामा मतदानस्थल तय गर्ने काम सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्लामा एक सय ८० केन्द्र कायम हुने भएका छन् । अर्घाखाँचीमा एक लाख ३२ हजार चार सय २१ मतदाता छन् । यहाँ तीन गाउँपालिका र तीनवटै नगरपालिका छन् । जिल्लामा १३ वटा दल दर्ता भएका छन् । प्रत्येक मतदान केन्द्रमा ५ जनाका दरले ९ सय कर्मचारी परिचालन हुने पाण्डेले बताए । निर्वाचनको तयारीका लागि गर्नुपर्ने कामलाई तीव्रता दिइएको उनले बताए ।

निर्वाचनको तयारी तीव्र

कपिलवस्तु/जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । मतदान केन्द्रहरू सिफारिस गरी स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको कार्यालयले जनाएको छ । मतदाता नामावलीलाई पनि अन्तिम रूप दिई स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले जनाए । दल दर्ता सम्पन्न भइसकेको र निर्वाचनमा खटिने जनशक्ति विवरण अद्यावधिक भइरहेको उनको भनाइ छ । मतदाता शिक्षा निकट भविष्यमै सञ्चालन गर्ने उनले बताए । निर्वाचनका लागि जिल्लामा २६ राजनीतिक दल दर्ता भएका छन् । मधेसी मोर्चा आबद्ध दल पनि निर्वाचन कार्यालयमा दर्ता भएका छन् । जिल्लामा दुई सय ३३ मतदान केन्द्र रहने गरी सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए ।

रुकुममा पनि चुनावको तयारी तिव्र

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका मुख्य राजनीतिक दल चुनाव प्रचारप्रसारमा जुटेका छन् । दलहरूका कार्यक्रमले गाउँ चुनावमय बनेका छन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्र प्रचारमा जुटेका हुन् । कांग्रेस र माओवादी केन्द्र गाउँ पसिसकेका छन् भने एमाले आन्तरिक तयारीमा छ । चुनावको तयारीका लागि जिल्ला कमिटीको बैठक बसिरहेको र त्यसको निर्णयका आधारमा चुनावलक्षित गतिविधि सञ्चालन गर्ने प्रचार विभाग उपप्रमुख कर्णबहादुर ओलीले जानकारी दिए ।

पार्टीको सम्पूर्ण शक्तिलाई चुनावमा केन्द्रित गरेको र आफ्नो पार्टी पहिलो बन्ने पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक गोपाल शर्मा अनलले दाबी गरे । कांग्रेसले पनि चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेको छ । पछिल्लो समय जिल्लामा कांग्रेस बलियो बनेका कारण स्थानीय चुनावमा पहिलो हुने जिल्ला सभापति प्रेमप्रकाश ओलीको दाबी छ ।

ठूला दलबीच चुनावलाई लक्षित गर्दै पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । कार्यकर्ता भेला, सम्मेलनलगायतका गतिविधिबाट जिल्लाका राजनीतिक दलले फरक पार्टीमा रहेकालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियानै थालेका छन् । पार्टी प्रवेश गराउनेमा माओवादी केन्द्र पहिलो पंक्तिमा देखिएको छ । उसले स्थानीय चुनावको तयारी थालेदेखि हालसम्म अन्य पार्टीका ६ सयलाई पार्टी प्रवेश गराएको दाबी गरेको छ । पार्टी प्रवेश गराउनेमा दोस्रो स्थानमा रहेको कांग्रेसले अहिलेसम्म पाँच सयलाई प्रवेश गराएको बताएको छ । औपचारिक चुनावी तयारी नथाले पनि एमालेले एक सय ५० लाई पार्टी प्रवेश गराएको दाबी गरेको छ ।

बैतडीमा १२० मतदान केन्द्र

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ९८ मतदानस्थलमा एक सय २० मतदान केन्द्र सिफारिस भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयाँलका अनुसार सबैभन्दा धेरै सदरमुकाम दशरथचन्द नगरपालिकामा २२ वटा केन्द्र सिफारिस गरिएको छ । सबैभन्दा कम डिलासैनी गाउँपालिकमा ६ वटा मतदान केन्द्र सिफारिस भएको छ । पुनर्संरचनापछि जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका छन् ।

पाटन नगरपालिकामा १९, पुरचौडी नगरपालिकामा १५, मेलौली नगरपालिकमा ११, सिगास र दोगडा केदार गाउँपालिकामा १२/१२, र पञ्चेश्वर र सूर्नया गाउँपालिकामा आठ–आठ मतदान केन्द्र सिफारिस भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि ०७० को दोस्रो संविधानसभा चुनावमा पनि जिल्लामा एक सय २० मतदान केन्द्र तोकिएका थिए । मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ लाई हेरफेर गरेको जिल्ला निर्वाचन अधिकृत फुयाँलले बताए । आयोगले प्रमाणित गरेपछि केन्द्र कायम हुने निर्वाचन अधिकृत फुयाँलले जानकारी दिए । जिल्लामा एक लाख २८ हजार सात सय ८३ मतदाता छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १३ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचनको तयारी तीव्र

कपिलवस्तु/ जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । मतदान केन्द्रहरू सिफारिस गरी स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको कार्यालयले जनाएको छ । मतदाता नामावलीलाई पनि अन्तिम रूप दिई स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले जनाए । दल दर्ता सम्पन्न भइसकेको र निर्वाचनमा खटिने जनशक्ति विवरण अद्यावधिक भइरहेको उनको भनाइ छ । मतदाता शिक्षा निकट भविष्यमै सञ्चालन गर्ने उनले बताए । निर्वाचनका लागि जिल्लामा २६ राजनीतिक दल दर्ता भएका छन् । मधेसी मोर्चा आबद्ध दल पनि निर्वाचन कार्यालयमा दर्ता भएका छन् । जिल्लामा दुई सय ३३ मतदान केन्द्र रहने गरी सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए ।