२०७३ चैत्र १४ – नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा सोमबार पाकिस्तान यू–२३ को सामना गरिरहेको छ । बंगलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले १ सय ८० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको हो ।
भरपर्दा ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, सागर पुन र दिपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालको इनिङस् सुनील धमला र शरद भेषावकरले सम्हालेका थिए । धमला ४३ र शरद ३८ रनमा आउट भए । दीपेन्द्र १४, सागर ४ र कप्तान मल्ल २ रनमा आउट भएपछि नेपाली इनिङस् एक समय धरमराएको थियो ।
१ सय २६ बलको सामना गरेका सुनीलले ४३ रन जोड्दा ३८ रन जोड्न शरदले ५८ बलको समना गरेका थिए ।
यस्तै विनोद भण्डारी २२ रन जोडे भने महबुब आलम गोल्डेन डक आउट भए । अन्तिम ओभरमा आरिफ शेख १६ रनमा आउट भए भने सन्दिप लामिछाने पनि गोल्डेन डक आउट भए ।
पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ वर्ष मुनिको टोलीसंग ९ विकेटले पराजित भएको थियो । नेपाल रहेको समुह एमा पाकिस्तान सहित बंगलादेश र हङकङ समावेश छन । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप २०१३ पछि आयोजना हुन लागेको हो । नेपाल पछिल्लो पटक पाकिस्तान यू–२३ सँग ९ विकेटले पराजित भएको थियो ।