images
images

विश्वकप छनोट- नेदरल्यान्ड्सलाई धक्का

 २०७३ चैत्र १४, – बुल्गेरियासँग २–० को आश्चर्यजनक हार बेहोर्नुपर्दा शनिबार नेदरल्यान्ड्सको विश्वकप पुग्ने आसमा तुषारापात भएको छ । तीनपल्टको उपविजेता मुलुक यो हारका कारण समूहमा अग्रणी फ्रान्सभन्दा ६, स्वीडेनभन्दा ३ र बुल्गेरियाभन्दा २ अंकले पछाडि छ । समूहका शीर्ष ३ समूहमात्र रसिया विश्वकपका लागि छनोट हुनेछन् ।

‘यस्तो बेला के भन्ने ? राम्रो गर्ने भनेर नै हामी आएको हो तर दुस्वप्नजस्तो भयो,’ डच कप्तान आर्यन रोबेनले भने ।

शनिबारकै अर्को खेलमा फ्रान्सले चाहिँ लक्जम्बर्गलाई ३–१ ले हराएको थियो । अर्कोतिर समूह ‘बी’ को खेलमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७० पुर्‍याए । युरोपेली च्याम्पियन्स पोर्चुगलले समूह ‘बी’ मा दोस्रो स्थानमा बस्ने गरी हंगेरीलाई ३–० ले पराजित गर्‍यो । उक्त समूहमा स्वीट्जरल्यान्ड अगाडि छ ।

समूह ‘एच’ मा बेल्जियमले २ मिनेट मात्र समय बाँकी हुँदा रोमेलु लुकाकुको गोलबाट ९ जनामा सीमित ग्रिससँग १–१ को बराबरी गर्‍यो । यद्यपि टोली २ अंकले अझै समूहको अग्रस्थानमा छ । तर बेल्जियमले विश्वकप छनोट यात्रामा अहिलेसम्म बनाएको शतप्रतिशत जितको यात्रा गुमाएको छ ।

सोफियामा बुल्गेरियाले सुरुआती २० मिनेटमा २ गोल गर्दै डच टोलीलाई स्तब्ध पारेको थियो । दुवै गोल स्पास डेलेभले गरे । १७ वर्षीय माथजिस डे लिटको गल्तीको फाइदा उठाउँदै डेलेभले पहिलो गोल गरेका हुन् । डे लिट सन् १९३१ यताकै हल्यान्ड राष्ट्रिय टोलीका सबैभन्दा कान्छा खेलाडी हुन् । उनले एउटा पासलाई मिस जज गरेका कारण डेलेभले गोल गर्ने मौका पाएका हुन् । अप्रत्याशित गोलबाट लय गुमाएको डच टोलीलाई अर्को झडका डेलेभले तुरुन्तै फेरि दिए । उनले दायाँ खुट्टाको सटीक प्रहारमा दोस्रो गोल गरेका हुन् ।

बाँकी समय डचहरूले नै नियन्त्रणमा राखे पनि बुल्गेरियाली रक्षापंक्तिले रोक्यारोक्यै गर्‍यो । गोलरक्षक निकोलाभा मिखायालोभले दोस्रो हाफमा डाभी क्लासेनको प्रहारलाई उत्कृष्ट ढंगले बचाउ गरे ।

समूह ‘ए’ को अग्रणी फ्रान्सका लागि ओलिभर जिरुडले मध्यान्तरभन्दा अगाडि खाता खोलेका थिए । फ्रान्स सन् १९९८ विश्वकपको विजेता हो । लक्जेम्बर्गले ३४ मिनेटपछि अरेलिन जोचिमको पेनाल्टीमा बराबरी गोल गर्‍यो । जुन लक्जेम्बर्गले गएको ३९ वर्षमा फ्रान्सविरुद्ध गरेको पहिलो गोल हो । तर टोलीको खुसी लामो समय टिकेन । ४ मिनेटपछि नै एथलेटिको म्याड्रिडका चर्चित स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमै फ्रान्सको अग्रतालाई पुनस्र्थापित गरे । ७७ औं मिनेटमा आर्सनल स्ट्राइकर जिरुडले टिमको तेस्रो तथा खेलमा आफनो दोस्रो गोल गरे । उनलाई बेन्जामिन मेन्डीले पास मिलाएका थिए ।

‘हामीसँग खेल्दा ओलिभरले प्राय: गोल गर्छन्, उनको क्लबमा प्राय: समस्या भए पनि । उनलाई क्रस फालिरहनुपर्छ र राम्रो पनि खेल्छन्,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले भने ।

पोर्चुगलका लागि चाहिँ पोर्टोका स्ट्राइकर आन्द्रे सिल्भाले ३० औं मिनेटमा खाता खोलेका थिए । त्यसको ६ मिनेटपछि कप्तान रोनाल्डोले दायाँ खुट्टाको कडा प्रहारमा अग्रतालाई दोब्बर पारे । उनले नै ६५ औं मिनेटमा चलाखीपूर्ण फ्रिकिकमा अर्को गोल थपे । उनको यो ७० औं अन्तर्राष्ट्रिय गोलसमेत थियो । ‘हामी विश्वकप खेल्न चाहन्छौं । हामीले बाँकी ५ खेल पनि खेल्नुपर्छ, जुन सबै फाइनल बराबरै छन्,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने ।

बेल्जियमले घाइते इडेन हजार्डलाई गुमाएको जस्तो भान पर्‍यो । ब्रसेल्समा भएको खेलमा बेल्जियमले आफ्नो रचनात्मक खेल बिर्सेजस्तो देखिएको थियो । त्यही क्रममा दोस्रो हाफको सुरुआतमै ग्रिसले बेन्फिका स्ट्राइकर कोस्टास मिट्रोगलुको गोलमा अग्रता लियो । उनले छनोट चरणमा गरेको यो तेस्रो गोल हो । अत्यन्तै शारीरिक किसिमको खेल खेलेको ग्रिसका २ खेलाडीले रातो कार्ड खाए । यही अवस्थाको फाइदा लिएर मात्रै बेल्जियमले बराबरी गोल गर्न सक्यो ।

शनिबारको खेलमा स्वीडेनले बेलारुसलाई ४–० ले हरायो भने बोस्निया हर्जगोभिनाले जिब्राल्टरलाई ५–० ले हरायो ।