२०७३ चैत १३ – मेलम्चीको पानी काठमाडौं आउने सुरुङ खन्न अब ४.२ किलोमिटर मात्र बाँकी छ । तर २०७४ असोज अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने आशंका बढेपछि मेलम्ची खानेपानी विकास समिति कामको गति बढाउन लागी परेको छ । यसका लागि थप उपाय खोजि रहेका छ ।
मेलम्चीदेखि सुन्दरीजलसम्मको कुल २६.५ किमि लामो सुरुङ खन्न ४.२ किमि बाँकी रहँदा तोकिएको समयमा सम्पन्न हँुदैन कि भन्ने आशंका बढेको छ । हाल दैनिक १५ देखि २० मिटरका दरले सुरुङ खनिएको छ । सोही गति अनुसार काम गर्दा तोकिएको समयमा पानी आउन नसक्ने अवस्था देखिएपछि समितिले थप उपायको खोजी गरेको हो । निर्माण कम्पनीले भने थप सर्तसहित तोकिएको समयमा काम सक्ने प्रतिवद्धता गरेको छ ।
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले २०७४ असोज मसान्तभित्रै मेलम्चीको पानी ल्याउन निर्माण कम्पनीले प्रतिबद्धता गरेको बताउनु भयो । तर निर्माण कम्पनीका थप केही सर्त रहेको उहाँले बताउनु भयो ।
दुवाडीका अनुसार असोज मसान्तसम्म पानी ल्याउनका लागि थप मेसिन ल्याउनु पर्ने, सुरुङको माथि क्राउन थप गरी बोल्ट हालेर जमिनलाई बलियो बनाएर काम गर्नु पर्ने, सुरुङको जमनिमा आरसीसी ढलानको काम पहिल्यै गरे बाटोको समय कम लाग्ने र काममा सहज हुने लगायतका सर्त निर्माण कम्पनीले गरेको छ । यी काम समितिले गरिदिए असोज मसान्तसम्म पानी ल्याउन सकिने निर्माण कम्पनीको प्रतिबद्धता रहेको दुवाडीले बताउनु भयो ।