२०७३ चैत्र १३,- सरकारले छ वर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएका मोरङको अमाही बरियातीका वासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
भोलि सोमबार विराटनगरमा हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारका तर्फबाट साहका परिवारलाई क्षतिपूर्तिबापत १० लाखको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट साहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।
यसरी मारिएका थिए साह
घटना २०६७ जेठ ११ गते बिहान सवा ८ बजेको हो । मोरङको सीमावर्ती अमाही बरियाती–७ खयरबना गाउँका निर्दोष ५५ वर्षीय वासुदेव भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका हुन् । भारतीय बजारबाट खानेतेललगायत उपभोग्य वस्तु तस्करी गरेर ल्याएको भन्दै ओसारपसार गर्नेहरूलाई पछ्याएर भारतीय सुरक्षाकर्मीको टोली आएको थियो ।
एसएसबीको २४ औं बटालियनका इन्सपेक्टर हितेन्द्र सिंह र हवल्दार मदनसिंह सोडा सादा पोसाकमा दसगजा वर नेपाली गाउँ आएका थिए । नेपाली भूमिबाटै नेपालीलाई धरपकड गर्न थालेपछि स्थानीय चौकीका प्रहरीले विरोध गरे । त्यसक्रममा भारतीय सुरक्षाकर्मीले हातपात गर्न थालेपछि गाउँले भेला भएर प्रतिकार गरे । सोही क्रममा घटनास्थल नजिकै घर भएका वासुदेव पनि पुगे । गाउँघरको विवाद, झगडा मिलाउन सधैं अघि सर्ने उनी गाउँले र चौकीका प्रहरीलाई अप्ठ्यारो परेको बुझेपछि सम्झाइबुझाइ गर्न घरबाट निस्केका थिए ।
त्यसबेलासम्म विवाद चर्किसकेको थियो । घरेलु प्रयोजनका लागि खानेतेल ल्याउने गाउँलेलाई पक्रेर भारततिर लैजान खोज्दा गाउँलेले रोकेका थिए । त्यसैक्रममा गालीगलौज गर्दै एसएसबीका इन्सपेक्टर हितेन्द्रले एकाएक पेस्तोल निकालेर प्रहार गरे । भर्खरै आएर सम्झाइरहेका वासुदेव ठाउँको ठाउँ ढले । घटनास्थल दसगजा क्षेत्रभन्दा करिब सय मिटर वारि पर्छ । गोलीले गम्भीर घाइते भएका उनलाई हतार–हतार विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुर्यालइयो । चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे ।
गोली लागेर उनी ढलेपछि भारतीय सुरक्षाकर्मी आफूले ल्याएको मोटरसाइकल छाडेर सीमापारि भागेको स्थानीय जोगेन्द्र साहले बताए । उनीहरूको बीआर ३८ बी ००३६ नम्बरको हिरो होन्डा मोटरसाइकल गाउँलेले नियन्त्रणमा लिएर नेपाली प्रहरी चौकीमा बुझाए । घटनास्थलमा गोलीका केही खोका बरामद गरिएको थियो । त्यसबेला स्थानीय प्रहरी चौकीका तत्कालीन हवल्दार शम्भु चौधरी र उनका सहकर्मीलाई समेत भारतीय सुरक्षाकर्मीले हातपात गरेका थिए ।
श्रीमती, तीन छोरा र चार छोरीका अभिभावकले अनाहकमा ज्यान गुमाएपछि गाउँ शोकमा डुब्यो । शोकसँगै भारतीय सुरक्षाकर्मीको ज्यादतीप्रति आक्रोश पनि बढ्यो । गाउँले भेला भएर प्रहरी चौकी र मोरङ प्रशासनमा समेत दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्ति दिन दबाब दिए । लिखित जानकारी लिएर प्रहरी–प्रशासनले माथिल्लो निकायमा लेखेर पनि पठाए । तर लामो समय बितिसक्दा पनि पीडित परिवारले सहयोग पाएका थिएनन् ।