images
images

गृहमन्त्री बिमलेन्द्र निधि र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटवार्ता

DPM- Chinese minister
२०७३ चैत ११ – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि विहीवार नेपाल आउनु भएका चिनियाँ रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा आपसी हित र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो ।
भेटमा उहाँहरुबीच नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउने विषयमा पनि छलफल भएको उपप्रधान तथा गृहमन्त्रीको निजी सचिवालयले जनाएको  छ ।
गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनु भयो । भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनु भयो । उहाँले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराउनु भयो । त्यस अबसरमा चाङले अरनिको राजमार्ग पुनःनिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस विषयमा थप कुराकानी गर्ने उल्लेख गर्नुभयो ।
साथै, उहाँले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैब सहयोग गर्ने पनि बताउनु भयो ।
सो अवसरमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।