images
images

एक चीन नीतिमा नेपालको पुन प्रतिबद्धता

अरनिको राजमार्ग पुनर्निर्माणलाई प्राथमिकता : चीन

चैत्र ११, २०७३– नेपालले आफ्नो भूमिमा कुनै पनि किसिमको चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षा मन्त्री क्वानवान च्याङसँग प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेको दोस्रो दिन शुक्रबार उपप्रधान एवं गृहमन्त्री वीमलेन्द्र निधिले पनि प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाँणले च्याङसँग नेपाल एक चीन नीतिमा अडिग रहेको पनि बताएका थिए । च्याङले सबै उच्चस्तरीय भेटमा तिब्बत र ताइवान चीनको अभिन्न अंग रहेको भन्दै चीन विरोधी गतिविधि हुन नदिन आग्रह गरेका थिए । उनले चीनले अघि सारेको ‘वान बेल्ट, वान रोड (ओबर)’ परियोजनामा साझेदार बन्न पनि नेपाललाई आग्रह गरेका छन् । शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग पनि च्याङसँग भेट गरे ।

नेपाली सुरक्षा निकायमा आधुनिकीकरण गर्न चीनले चासो दिएको छ । रक्षामन्त्री च्याङले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम उपलब्ध गराउने बिषयमा गृह मन्त्री निधिसँग छलफल गरेको गृह मन्त्रालयले जनाएको छ । छलफलमा निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका थिए । निधिले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनीयाँ सहयोग महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री च्याङको ध्यानाकर्षण गराएका थिए । भेटमा च्याङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताए । उनले आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गरे । भेटमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद समेत दिएका थिए । प्रधानसेनापति क्षत्री र मन्त्री च्याङबीच सैनिक जंगी अड्डामा शुक्रबारै भएको भेटमा द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । नेपाल–चीन बीच संयुक्त सैनिक अभ्यास गर्ने निर्णय भएपछि पहिलो पटक नेपाली सेनाका प्रधानसेनापति र चीनका उच्च तहका पदाधिकारी बीच भेट भएको हो ।

स्रोतका अनुसार च्याङले प्रधानसेनापति क्षत्रीसँग उत्तरी सिमानामा हुने सुरक्षाका सवालमा कुरा राखेका छन् । च्याङले उत्तरी क्षेत्रमा सुरक्षाको चासो देखाउदै त्यसलाई थप मजबुद बनाउन नेपाललाई थप सहयोग गर्न सकिने भएका थिए । चीनले भविष्यमा नेपाललाई करिब ३ अर्ब बराबरको विपत्त व्यवस्थापन लगायत अन्य सामाग्री प्रदान गर्ने भनिए पनि त्यसको हाल कुनै टुंगो लगाइएको छैन । च्याङ श्रीलंकाको भ्रमण पूरा गरी बिहीबार बिहान थाई एयरवेजको जहाजबाट नेपाल उत्रिएका थिए । च्याङ आफ्नो तीन दिने भ्रमण पूरा गरि शनिबार चीन फर्किदै छन् ।