images
images

बजेट अभावको कारण कवर्डहल ले गति लिन सकेन

चैत्र ११, २०७३- अढाई वर्षदेखि निर्माणाधिन व्याडमिन्टनको कवर्डहल बजेट अभावले अपुरै छ । डाँडागाँउस्थित ट्रसवाला ३ कोर्ट क्षमताको उक्त कवर्डहलको आधामात्र काम भएको छ ।

एकदमै सस्तो पर्ने ट्रसवाला कवर्डहलका लागि सोही अनुपातमा बजेट जुटाउन नसक्दा सम्पन्न गर्न समस्या भएको छ । हालसम्म ट्रस उठाएर जस्ता हाल्ने र वरपर त्रिपालले घेराबारा गर्ने काम भएको छ । सिमेन्टेड गर्न, वाल उठाउन, फिनिसिङका काम बजेट अभाव भएको कोषाध्यक्ष विन्दु प्रधानले बताइन् । बजेट बाँडफाँडमा व्याडमिन्टनलाई बेवास्ता गरेका कारण समस्या भएको समितिको भनाइ छ ।

जस्ता र त्रिपालले बारिएको निर्माणधिन कवर्डहल ।
क्षेत्रविकास कोषबाट पठाएको १० लाखले कवर्डहल निर्माण सुरु गरिएको थियो । खेलाडीले व्याडमिन्टन भोजपुर फेसबुक पेजमार्फत सहयोगको अपेक्षास्वरुप अभियान चलाएका थिए । कोरियामा बस्ने भोजपुर परिवारले १० लाख, यूकेमा बस्दै आएका नेपालीहरुले ५९ हजार २ सय ८० रुपैयाँ, हङकङबाट नेप्लिज टेनिस सोसाइटीले ८ हजार ६ सय ५५ हङकङ डलर, विभिन्न देशमा बस्दै आएका नेपालीहरुले २५ लाख बराबर सहयोग गरेका थिए । सम्पन्न गर्न ५० लाख बराबर रकम आवश्यकता पर्ने जिल्ला व्याडमिन्टन संघका विकास श्रेष्ठले बताए ।

स्थानीयस्तरका सरोकारवाला, राजनीतिक दल, स्थानीय निकाय, सरकारकै उदासिनता र बेवास्ता भएको खेलाडी र खेलप्रेमीहरुले बताए । राष्ट्रिय तथा अन्तर्रास्ट्रियस्तरमा भोजपुरे व्याडमिन्टन खेलाडीले वर्चस्व कायम गर्दै आए पनि पूर्वाधार विस्तारमा अझै पनि कसैले चासो दिएका छैनन् । खेलाडीले आफ्नै सक्रियतामा थालेको पूर्वाधार सम्पन्न गर्न चासो दिएका छैनन् । सरकारमा जिल्लाकै राजनीतिज्ञको प्रतिनिधित्व भए पनि खेलाडीको लगनशिलता र पूर्वाधार आवश्यकतालाई बेवास्ता गरेका छन् ।

अन्डर सिक्स्टीन च्याम्पियनसीपमा २०५८ सालदेखि जिल्लाले लगातार प्रभुत्व जमाउँदै आएको छ । सरादेवी तामाङ, विकास श्रेष्ठ, नंसलादेवी तामाङ, विवेक श्रेष्ठ, रत्नजीत तामाङ र नवीन श्रेष्ठसहित छ जना राष्ट्रिय च्याम्पियनहरु गतिला उदाहरण बनिसकेका छन् । जसले भोजपुर व्याडमिन्टनका लागि उर्वरभूमि सावित गरिसकेका छन् । हाल अन्तर्रास्ट्रियस्तरमा व्याडमिन्टनमा सहभागी हुन जाँदा भोजपुरका ४ देखि ५ जना खेलाडी मैदानमा उत्रन्छन् । उनीहरुले साउथ एसियन गेम्स, एसियन च्याम्पियनसीप, वोल्ड च्याम्पियनसीप, इन्डिया, चाइना, मलेसिया, थाइल्यान्ड, बंगलादेश, कोरियाजस्ता देशको अन्तर्रास्ट्रिय खेलमा सहभागिता जनाएका छन् । उनीहरुले सिनियर लेभलको एसियाडमा पाचौं स्थानसम्म आउन सकेका थिए । जुन स्थान पनि नेपालमा व्याडमिन्टन खेलको विकास हेर्दा सरहानीय र प्रशंसनीय भए पनि गृहजिल्लामा पूर्वाधारको विस्तार नहुँदा नयाँ उत्पादनको अभाव खड्किएको छ ।

कान्तिपुर का अनुसार देश विदेशमा नेपाल र नेपालीको शिर उच्च बनाए पनि सरकारले चासो नदिँदा अर्थिक अवस्था कमजोर भएका तर खेलमा अब्बल क्षमता बोकेका कतिपय खेलाडी जस्तै विशाल मोक्तान, सुवास मोक्तान, लोकतमा राई, सीता राई, प्रविण बस्नेत, हेन्खामा राई क्षेत्रीयस्तरको प्रतियोगिताभन्दा माथिल्ला प्रतियोगितामा सामेल हुन सकेका छैनन् । प्रशिक्षण र पूर्वाधारको अभावले पिछडिएको गुनासो छ ।

गृहजिल्लाले जन्मिएका प्रतिभालाई जोगाउन नखोजेको गुनासो छ । ‘हामी च्याम्पियन धेरै भएकोले आफ्नै जन्मभूमिमा धेरै सस्तो भएको झैं लाग्छ,’ एक खेलाडीले भने । व्याडमिन्टन खेलको योगदानको कदर हुन नसक्दा कमाएको छविलाई जोगाइराख्न अभिभावकको अभाव छ ।