चैत्र ११ , २०७३- अस्मी श्रेष्ठ छिट्टै पूर्वमिस नेपाल हुँदै छिन् । उनले बनाएका समाजसेवी योजना भने उत्तिकै ताजा र नवीन भएर निरन्तर रहनेछन् । मिस वल्र्डमा उनले ब्युटी विथ पर्पस टाइटलको लागि भूकम्प प्रभावित क्षेत्र गोरखास्थित वनदेवी प्राथमिक विद्यालयको निर्माण कार्यसम्बन्धी डकुमेन्ट्री बनाएकी थिइन् ।
यो भिडियो मिस वर्ल्डमा ब्युटी विथ पर्पसको टप फाइभमा पर्न सफल पनि भएको थियो । यसअघि पूर्व मिस नेपाल इशानी श्रेष्ठले २०१२ मा ब्युटी विथ पर्पसको टाइटल नै जितेकी थिइन् । राजधानीमा सोमबार नयाँ मिस नेपाल खोजीलाई लिएर आयोजक दी हिडन ट्रेजरले गरेको पत्रकार सम्मेलनमा अस्मीले समाजसेवाको आफ्नो योजना जारी नै रहने बताइन् ।
‘क्लास–रुम एन्ड बियोन्ड’ प्रोजेक्टअन्तर्गत वनदेवी विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको उनले सुनाइन् । अब उनी स्कुलमा कसरी पढाउने विषयमा सिकाउने योजनामा छिन् ।
‘भौतिक आधार तयार भएर मात्रै हुँदैन रहेछ,’ उनले भनिन्, ‘पढाउने शैली र वातावरणबारे पनि उत्तिकै गम्भीर हुन आवश्यक छ । त्यो काम अब सुरु गर्दै छु ।’ समाजसेवा गर्ने चाहनामा थुप्रै प्रोजेक्टमा हात हालेर अपुरो छाड्न नचाहेको उनले बताइन् । ‘वनदेवी स्कुललाई नमुना स्कुलको रूपमा देखाउनु छ,’ उनले भनिन् । उनले मिस वल्र्डमा सहभागी हुँदाको अनुभवसमेत सुनाइन् । आफ्ना तर्फबाट भरपुर मिहिनेत गरे पनि एक सयभन्दा बढी देशका सहभागीलाई पछि पार्दै टप फाइभमा आउनु ठूलै उपलब्धि रहेको उनले दाबी गरिन् ।
हिडन ट्रेजरले नयाँ मिस नेपालको आवेदन खुल्ला गरेको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा मिस अर्थ रोशनी खत्री र मिस एसिया–प्यासिफिक इन्टरनेसनल अंशु केसीले पनि आफ्ना अनुभव सुनाए ।
मिस नेपाल २०१७ को लागि योपटक बुटवल, नेपालगन्ज, पोखरा, चितवन, धरान, धनगढी र काठमाडौंमा अडिसन गरिने हिडन ट्रेजरका गोपाल कक्षपतीले बताए । उनले हरेक वर्षझैं केही नौलो काम देखाउने प्रयत्न गरेको सुनाए ।
कान्तिपुरका अनुसार प्रतियोगितामा १९ वर्षदेखि २४ वर्षसम्मका ५.४ फिटदेखि माथि उचाइ भएका अविवाहित युवतीले सहभागी हुन सक्ने उनले बताए ।