images
images

डिभोर्स हल्लाले हँसायो नवाजुद्दिनलाई

चैत्र ११ , २०७३- सेलेब्रिटीहरूको दाम्पत्य जीवनबारे धेरैलाई चासो हुन्छ । बलिउडमा पनि तिनका मिलन–विछोडका किस्सा समाचार बन्छन् । आमीर खान–रिना दत्त, अमृता सिहं–सैफ अलि खान, अरबाज खान–मलाइका अरोडा, ह्तिक रोशन–सुजैन जस्ता बलिउड दम्पतीको बिछोडले बलिउडमा तरंग ल्याएको थियो ।

कलाकर्मीहरूको सम्बन्ध किन दिगो हुँदैन भन्ने प्रश्न सुन्नमा आउँछ । केहीले त कलाकारका लागि बिहे र डिभोर्स ठूलो कुरै होइन भनेजसरी प्रतिक्रयासमेत दिने गर्छन् । तर, वास्तविकता त्यस्तो हुँदैन रहेछ । यसलाई बलिउडका राम्रा अभिनेता नवाजुद्दिन सिद्दिकीको भनाइ र गतिविधिले पुष्टि गरिदिएको छ ।

पछिल्लो समय नवाजुद्दिनकै घरबार खतरामा रहेको खबर बलिउडमा छाएको थियो । उनी श्रीमतीसँग छुट्टिन चाहेका थिए रे । यो विषयमा अभिनेता मौन बसेपछि आगो नबली धूवाँ उडेन होला भन्ठानियो । तर, गत साता उनले फिल्म ग्लसीविरुद्ध मुद्दा हाले । यसले त्यो हल्ला निराधार भएको पुष्टि गरिदियो । कान्तिपुर समाचार का अनुसार उनले अन्यत्र सम्बन्ध राखेको भन्ने खबर छापेकाले उनी पत्रिकाविरुद्ध आगो भएका थिए ।

यसै साता ‘स्पोटब्वाई’ लाई दिएको अन्तर्वार्तामा उनले यस्ता हल्ला कसरी उब्जिन्छन् भन्नेबारे आफ्नो अनुभव सुनाउन भ्याए । ‘हल्लाहरू प्रसिद्धिसँगै उम्रिन थाल्छन् क्यारे,’ उनले भनेका छन्, ‘कुरालाई सनसनीपूर्ण बनाउन मान्छेहरू मनलाग्दी व्याख्या गरिदिन्छन् ।’

आफूहरू खुसीसाथ जीवन बिताइरहेको भन्दै उनले अभिभावकत्व निर्वाह गर्न पाएकामा पनि गौरव व्यक्त गरेका थिए । ‘उनले मलाई उतारचढावहरूमा झेलेकी छन्,’ अभिनेताले भने, ‘यस्ता हल्लामाथि हाँस्न सिक्दै छु म ।’