images
images

नियमविपरीत भूकम्पपीडितको काठ बेचिँदै

चैत्र ११ , २०७३- तराईका विभिन्न जिल्लामा भूकम्प पीडितका लागि छुट्याइएको काठ टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)लाई बिक्री गर्ने प्रक्रिया अघि बढाउन खोजिएको छ ।

यो प्रक्रिया वन नियमावली, सरकारी वनको वन पैदावार संकलन तथा बिक्री निर्देशिका, सामुदायिक वनको वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, जिल्ला वन पैदावार आपूर्ति समिति कार्यविधि निर्देशिका र भूकम्प पीडितका लागि काठ उत्पादन आपूर्ति तथा व्यवस्थापन निर्देशिका विपरीत हो ।

सबै कार्यविधि र निर्देशिकामा वन पैदावार आपूर्ति समितिले सामुदायिक वन स्रोतबाट प्राप्त काठ सर्वसाधारणको घर बनाउन, सहभागितामूलक विकास निर्माण, प्रकोप र कृषि औजारका लागि बाहेक बिक्री गर्न नपाउने वन नियमावलीको नियम ९ मा प्रावधान छ । तर सामुदायिक वनबाट प्राप्त गरेको उक्त काठ टीसीएनलाई नै बिक्री गर्न पाउने निर्णयका लागि वन पैदावार आपूर्ति समितिले वन मन्त्रालय र विभागमा ‘चलखेल’ सुरु गरेपछि पीडितले पाउनुपर्ने काठ व्यापारीकरण गर्न खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आपत्ति जनाएको छ ।

प्रकोप पीडितका लागि वितरण गर्ने प्रयोजनका लागि आपूर्ति समितिलाई उपलब्ध गराइएको काठ नाफा कमाउने उद्देश्य बोकेको टीसीएनलाई बिक्री गरिए सामुदायिक वनबाट आपूर्ति समितिलाई दिइँदै आएको काठ रोक्का गरिदिने महासंघका अध्यक्ष गणेश कार्कीले बुधबार विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । अहिले सामुदायिक वनले शतप्रतिशत काठ समितिलाई उपलब्ध गराउँदै आएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लाका लागि सामुदायिक वनले जिल्ला आपूर्ति समितिमार्फत पीडितलाई काठ उपलब्ध गराउने निर्देशिका बनाइएको थियो ।

तर, समितिले टीसीएनलाई बिक्री गर्ने र उपभोक्ताले टीसीएनसँगै काठ खरिद गर्ने गरी निर्णय गराउन खोजिएपछि आपत्ति जनाउनुपरेको अध्यक्ष कार्कीले बताए । ‘टीसीएनसँग नै काठ किन्नुपर्ने हो भने भूकम्पपीडित झन् मारमा पर्छन्,’ उनले भने, ‘सोझै आपूर्ति समितिमार्फत पीडितलाई काठ उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो ।’ निर्देशिकामा आपूर्ति समिति नभएका जिल्लामा मात्र टीसीएनले चिरान काठ उपभोक्तालाई बिक्री गर्ने उल्लेख छ ।

तराईका सबै, उपत्यकाका तीन र भूकम्प प्रभावित सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वन पैदावार आपूर्ति समिति गठन भएको छ । जिल्ला वन अधिकृत (डीएफओ) समितिको सदस्य–सचिव रहने व्यवस्था छ । -कान्तिपुर समाचार