images
images

प्रचण्ड र सीले ओविओरको मस्यौदामा सहमति जुटाउने

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बढाउँछः प्रधानमन्त्री

२०७३ चैत्र १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अगाडि सारेको वान वेल्ट वान रोड (ओविओर)अवधारणामा सहमति जनाउँदै सो अवधारणामा सहकार्य गरेर अगाडि बढने गरी नेपालको प्रतिबद्धता व्यक्त गर्ने भएका छन ।
प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपति सी जिनपिङवीच सोमबार वेइजिङमा हुने भेटवार्तामा ओविओर अवधारणामा नेपाल र चीनका परराष्ट्र मन्त्रालयका वीचमा आदान प्रदान भएका मस्यौदामा रहेका केहि विवादित बिषयमा सैद्धान्तिक सहमति जुटाउने गरी गृहकार्य गरिएको छ ।

‘ओविओरमा नेपाल जोडिने प्रतिबद्धता व्यक्त हुन्छ । परराष्ट्र मन्त्रालयस्तरमा भएका मस्यौदा आदान प्रदानलाई अन्तिम रुप दिन हाम्रो प्रधानमन्त्री र चीनका राष्ट्रपतिबाट सैद्धान्तिक सहमति प्राप्त हुने अपेक्षा गरिएको छ’प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले अन्नपूर्णसँग भने।पूर्व प्रधानमन्त्री,पूर्व पराष्ट्रमन्त्री,चीनका लागि पूर्ण नेपाली राजदूत र अन्य बिज्ञहरुले पनि ओविओरमा नेपालले प्रतिबद्धता जनाइ सहकार्य गरेर अगाडि बढनु पर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका छन । ‘भ्रमणपछि ओविओरमा सकारात्मक कदम अगाडि बढनेछ’अधिकारीले भने ।
ओविओर अवधारणामा नेपाल पूरै प्रतिबद्धत भएर सहकार्यमा अगाडि बढेको अवस्था छैन । भारतले पनि ओविओरमा सहभागी हुन अस्वीकार गर्दै आएको छ । चीन भ्रमणमा क्रममा पहिले भएका सहमति कार्यान्वयनमा लैजाने उपायको खोजी गर्ने,नेपालको प्राथमिकताका एजेण्डालाई जोड दिने,व्यापार तथा पारवहन,अन्तरदेशीय प्रसारण लाइन र उर्जा विकास,केरुङ काठमाडौ रेल्वे,तातोपानी नाका सञ्चालन,अरनिको राजमार्ग विस्तार,रसुवागढी काठमाडौ सडक विस्तार लगायतका बिषयमा पनि छलफल हुने सल्लाहकार अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बढाउने बताए।बालुवाटारमा बिहीबार पूर्वप्रधानमन्त्री र विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा नेपालको हितका लागि विविध विषयमा छलफल हुने बताएका हुन्। उनले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको स्पष्ट पारे।

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताए। आफू बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदैै उनले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताएका थिए।

भेटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले चीन भ्रमणका विषयमा आफ्ना सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए।