२०७३ चैत्र १०– स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने भएको छ । गृह मन्त्रालयले सबै तयारी पूरा गरिसकेकाले मन्त्रिपरिषद्ले स्वीकृत गर्नासाथ भर्ना आह्वान गरिनेछ । गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार शुक्रबार सार्वजनिक सूचना निकालेर भर्नाका निम्ति दर्खास्त आह्वान गरिनेछ । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् ।
दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरीमा दर्खास्त हाल्न ५० वर्षको उमेरहद तोकिएकोमा यसपालि बढाएर ५३ वर्ष पुर्याइएको छ । अघिल्लो निर्वाचनमा अनुभव बटुलेकालाई पनि समेट्न उमेरहद बढाइएको हो । पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।
गृहले म्यादी भर्नासम्बन्धी कार्यविधि ७५ वटै जिल्लामा पठाइसकेको छ । दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तह निर्वाचनमा मतदान केन्द्र धेरै हुने भएकाले म्यादीको संख्या दोस्रो संविधानसभामा भन्दा झन्डै दोब्बर पुर्याइएको हो । १८ फागुनमा गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरिसकेको छ ।
यसैबीच, केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकमा स्थानीय तह निर्वाचनमा नेपाली सेनालाई मापदण्ड बनाएर परिचालन गर्नेबारे छलफल भएको छ । सेनाको प्रयोग कहाँ र कसरी गर्ने भन्नेबारे मापदण्ड बनाउन समितिमा बहस भएको थियो । निर्वाचन सुरक्षाका दृष्टिले मधेस र पूर्वी पहाडी जिल्ला संवेदनशील रहेको विषयमा पनि छलफल भएको थियो । निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । त्यस्तै निर्वाचनसम्बन्धी सामान ढुवानी र मतदाताको सुरक्षा सेनाले गर्ने प्रस्ताव समितिले गृह पठाएको छ ।