images
images

कांग्रेसमा कार्यसम्पादन समिति गठनको तयारी

चैत्र १०, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको मर्यादाक्रमअनुसार कार्यसम्पादन समितिमा मनोनीत गर्ने मापदण्ड तय गरेका छन् । वरिष्ठता आधारमा समितिमा सदस्य मनोनीत गर्दा विवाद नहुने ठानी देउवाले यस्तो मापदण्ड बनाएको स्रोतले बतायो । यो मापदण्डअनुसार समितिलाई पूर्णता दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सहमत छ ।

कांग्रेसको विधानअनुसार समितिमा पदाधिकारीबाहेक बढीमा २२ जना सदस्य सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ । पदाधिकारी, संसदीय दलको नेता पदेन सदस्य हुनेछन् । वरिष्ठताको आधारमा समितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खडका, चित्रलेखा यादव, पूर्णबहादुर खडका, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खडका, मीनेन्द्र रिजाल, प्रकाशरण महत र फरमुल्ला मन्सुर पर्छन् ।

देउवाले आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठक अवधिमा कार्यसम्पादन समितिका सदस्य र ४२ वटा केन्द्रीय विभागका प्रमुख प्रस्ताव गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समितिमा परेका सदस्यहरूलाई विभाग प्रमुख नबनाउने मापदण्ड पनि देउवाले तय गरेको उनी निकट एक केन्द्रीय सदस्यले बताए । बिहीबारदेखि सुरु हुने भनिएको बैठक आन्तरिक गृहकार्य र वार्तामा व्यस्त रहनुपरेका कारण जनाउँदै सभापति देउवाले आइतबारसम्मका लागि स्थगित गरेका छन् । -कान्तिपुर