images
images

मौसममा फेरबदली आज सफा, शुक्रबार देखि उस्तै

चैत्र १० , २०७३- जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार मौसममा केही सुधार आए पनि शुक्रबारदेखि पुन: गडबड हुने आकलन गरेको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बिहीबार राजधानीसहित धेरैजसो भाग घमाइलो हुने भए पनि शुक्रबारदेखि केही दिन बदली भई वर्षा हुने सम्भावना रहेको बताए ।

पश्चिमी वायुको ‘चेन’ प्रभाव कायमै भएकाले छिनछिनमा मौसममा बदलाव आइरहेको उनले उल्लेख गरे । ‘जम्मु कश्मीरबाटै आएको पश्चिमी वायु भिन्न खालको छ,’ अर्यालले भने, ‘त्यसैले एक दिन सफा भए पनि भोलिपल्टै बदलाव आइरहेको छ ।’ शनिबारदेखि मौसममा बदलाव आई मध्यम खालको वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।

‘यस्तो प्रक्रिया डेढ सातासम्म लम्बिन सक्छ,’ मौसमविद् अर्यालले थपे, ‘पश्चिमी वायुमा स्थानीय वायुको प्रभावले मौसममा बदली आइरहेको हो ।’ हावाको गति अत्यधिक कम भएकाले वायुमण्डल धुम्मिएको विश्लेषण मौसमविदको छ । ‘हावाको गति पनि कम भयो र वायुमण्डल पनि छेकियो,’ उनले भने, ‘तापक्रम बढ्न नसकेपछि चिसोसमेत बढ्न गयो ।’ बुधबार राजधानीको अधिकतम तापक्रम २२ पुगे पनि अपराहनतिर खस्केको थियो । -कान्तिपुर समाचार