चैत्र ९ , २०७३- पश्चिमी वायु बाटो बदल्दै पूर्वतिर सर्दै आएकाले मौसममा छिनछिनमा बदलाव आइरहेको मौसमविद्हरुले विश्लेषण गरेका छन् । ‘पश्चिमबाट आउने वायु नियमित जस्तो छैन’ काठमाडौं विश्वविद्यालयमा जलवायु विज्ञानका प्राध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले कान्तिपुरसित भने, ‘उत्तरपश्चिम हुँदै आउनुपर्ने वायुले बाटो बदलेको देखिन्छ, त्यही भएर त्यसको असर पनि फरक देखिएको छ ।’
पश्चिमी वायुले ल्याउने चिसोको मात्रा अघिल्ला समयमा भन्दा भिन्न देखिएकाले त्यसको प्रभाव नौलो देखिएको शाक्यको बुझाइ छ । ‘चैतमा यस्तो चिसो नहुनुपर्ने हो,’ उनले भने, ‘मौसमी गतिविधिमा छिनछिनमै फेरबदल आइरहेकाले पानी पर्ने, असिना पर्ने र हिमपात हुने क्रम बढेको छ ।’
लगातार हिमपात र पश्चिमी चिसो वायु र सूर्यको ताप जमिनमा आउन नसकेका कारण सर्वसाधारणले चैतमा समेत चिसो महसुस गरेको उनी बताउँछन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार केही दिनअघि पश्चिम वायुसंगै मध्यपश्चिम र पूर्वी क्षेत्रसम्म न्युन चापीय प्रणाली भित्रिएको थियो । ‘त्यही प्रणालीले सूदूरदेखि पूर्वसम्म वर्षा र हिमपात र असिना पर्यो,’ मौसमविद पौडेलले भने, ‘स्थानियस्तरमा उत्पन्न भएको मौसमी प्रणालीका कारण पनि मौसममा बदली भएको हो ।’
चिसो सकिने र गर्मी सुरु हुने दोसाँधमै दुई/तीन वटा मौसमी प्रणाली/गतिविधि उत्पन्न भएका कारण मौसममा फेरबदल आएको महाशाखाको भनाइ छ । यस्तै, प्रि मनसुनी गतिविधि पनि संगै सुरु भएकाले बिहानपख घाम लागे पनि दिउँसो बादल लागेर पानी पर्ने गरेको मौसमविद्हरु बताउँछन् ।
छिनछिनको बदलीका कारण सूर्यको ताप जमिनसम्म आउन नसकेकाले तापक्रममा समेत गिरावट आएको उनीहरुको विश्लेषण छ । ‘बिहान एकछिन घाम देखिए पनि त्यो ताप जमिनसम्म आइपुग्नै पाउँदैन,’ मौसमविद शाक्यले भने, ‘दिउँसो बादलले ढाकेपछि जमिन पनि चिसिन्छ र चिसो महसुस हुन्छ, अहिले भइरहेको ठ्याक्कै यही हो ।’
उपत्यकाको वायुमण्डल छेकिनुमा प्रदूषणलाई पनि एउटा कारण मान्छन् विशेषज्ञहरु । ‘विभिन्न किसिमको प्रदूषणको मात्रा पनि बढेको छ,’ शाक्य भन्छन्, ‘कचौरा आकारको राजधानीमा जम्मा भएको प्रदूषण त्यति छिटो हट्तैन, त्यसका लागि भारी वर्षा हुनुपर्छ ।’ धूलो धुँवासंगै सवारी साधनले उत्सर्जन गर्ने कार्बन पार्टिकलले प्रदूषण बढी गराएको शाक्यले बताए ।
अझै केही दिन मौसममा यस्तै उतारचढाव आईरहने मौसमविद्हरु बताउछन् । ‘बिहानपख आकाश खुलेजस्तो भए पनि अझै केही दिन दिउँसोतिर जलवाष्पयुक्त वायुका कारण बदली भई वर्षा हुने देखिन्छ,’ मौसमविद् पौडेलले भने । त्यसो त प्रि–मनसुनको अवधिमा मध्यान्हपछि गड्याङगुडुङ र हावाहुरीसहितको वर्षा सामान्य हो ।
-कान्तिपुर समाचार