images
images

आईजीपी मुद्दामा बहस शुरु, सोमबार पनि ‘हेर्दाहेर्दै’ अवस्थामा सुनुवाई हुने

चैत्र ६, २०७३– प्रहरी महानिरिक्षक नियुक्ती विवादमा आईतवारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाई शुरु भएको छ । प्रधानन्यायाधीश शुसिला कार्कीसहित न्यायाधिशहरु हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको वृहत पूर्ण इजलाशले मुद्दालाई सोमवार पनि ‘हेर्दाहेर्दै’ सुनुवाई गर्न आदेश दिएको हो ।
आईतवार रिट निवेदकद्वय कपिलदेव ढकाल र डीआईजी नवराज ढकालको तर्फबाट कानून व्यवसायीहरुले बहस गरे । आईतवार नै सरकारी वकिलहरु र जयबहादुर चन्दको तर्फबाट बहस गर्ने तयारी भएपनि निवेदकका तर्फबाटको बहस नसकिएकाले सोमवारलाई सरेको छ ।

आईजीपी विवादको सुनुवाईका लागि इजलाश गठनसँगै महान्याायधिवक्ता रमण श्रेष्ठले अघिल्लोपटक आदेश जारी गर्दा संलग्न न्यायाधीशहरुले त्यही मुद्दा हेर्न मिल्ने/नमिल्नेवारे जिज्ञासा राखेका थिए । त्यसक्रममा प्रधानन्यायाधीश कार्कीले सार्वजनिक सरोकारको मुद्दामा त्यसको कुनै अर्थ नरहने भएकाले सुनुवाई गर्ने बताएपछि बहस शुरु भएको हो । त्यसक्रममै जयबहादुर चन्द पक्षका कानून व्यवसायीहरु इजलासबाट बाहिरिएका थिए ।

सरकारले तेस्रो नम्बरमा रहेका डिआइजी चन्दलाई आइजीपी बनाउन निर्णय गरेपछि कपिलदेव ढकाल र पहिलो नम्बरका डीआइजी नवराज ढकाल छुट्टछुट्टै रिट लिएर सर्वोच्च पुगेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यन्वन नगर्न सुरमा अन्तरकालिन र पछि आन्तरिम आदेश जारी गरेको थियो ।