images
images

सप्तरीका सबै स्थानीय निकायमा मधेसी मोर्चाको ताला

मतदान केन्द्र पुनरावलोकन बैठक स्थगित

चैत्र ६, २०७३– पछिल्लो पटक गरिएको स्थानीय निकाय पुनर्संरचनामा तोकिएका सप्तरीका सबै स्थानीय निकायमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार तालाबन्दी गरेका छन् ।

समूहमा रहेका मोर्चाका कार्यकर्ताहरू आइतबार कार्यालय समय सुरु हुनासाथ जिल्लाका सबै गाँउपालिका र नगरपालिकामा तालाबन्दी गरेका थिए । मोर्चाको तालाबन्दी पछि सप्तरी जिल्लामा निर्वाचन समबन्धी तयारी समेत प्रभावित भएको छ भने स्थानिय निकायबाट हुने जनताका कामकाज समेत प्रभावित भएको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलका अनुसार आइतबार कञ्चनरुप, डाक्नेशवरी, बोदेवरसाईन, खडक, शम्भुनाथ, सुरुङगा र हनुमाननगर कंकालिनी नगरपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । यस्तै कृष्णसवरण, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी कोईलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा समेत मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको सचिव मण्डलले बताए । तालाबन्दी गर्ने क्रममा मोर्चाका कार्यकर्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको बोर्ड समेत जलाए ।

मोर्चाका कार्यकर्ताहरूले तिनदिन अघि नै जिल्ला सबन्मय समिति सप्तरीको बोर्डलाई मेटेर नेपाल सरकारको स्थानमा मधेस प्रदेश सरकार लेख्दै पुन जिल्ला बिकास समितीको कार्यालय नै लेख्न लगाएका थिए । यस्तै जिविस र सदरमुकाम राजविराज नगरपालिकामा ३ दिन अघि नै तालाबन्दी गरेका थिए ।

परिमार्जनसहित संविधान संसोधन नगरिएको, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यवहारिक तरिकाबाट गरिएको,स्थानीय तहलाई प्रदेश सरकार मातहत नराखी केन्द्र सरकार मातहत राखिएको, संघीय तथा प्रदेशको निर्वाचन नगरि स्थानीय तहको निर्वाचन जवरजस्ती गर्न खोजिएकोले तालाबन्दी गरिएको मोर्चा आवद्ध संघीय समाजवादी फोरम नेपालका तराई मधेस प्रदेश मुख्य सचिव शम्भु झाले जानकारी दिए ।

यस्तै समान जनसंख्याका आधारमा स्थानीय तहको निर्धारण नगरि विभेद गर्न खोजिएको ,फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँचजना निर्दोषलाई सहिद घोषणा नगरिएको, मलेठ घटनाबारे निश्पक्ष न्यायीक आयोग नबनाएको, राज्यले नशलवादी चरित्र देखाउँदै शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरिरहेको तथा संघीयतालाई समाप्त पार्न खाजेकाले सरकारले एकतर्फी रुपमा घोषणा गरेको स्थानीय निकायमा तालाबन्दी गरेको मुख्य सचिव झाले बताए ।

यसैबीच जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार राजविराजमा राखेको मतदान केन्द्र पुनरावलोकन समबन्धी बैठक मोर्चाका नेताहरुको आग्रहमा स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधी अनुपस्थित बैठकमा मोर्चा र सतारुढ माओवादी केन्द्रका नेताहरुले जिल्लामा निर्वाचन हुन सक्ने अबस्था नरहेको बताउदै बैठक स्थगित गर्न भनेका थिए । राजनैतिक दलको आग्रहमा बैठक स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जिल्लामा निर्वाचनको तयारीबारे सोधिएको प्रशनमा प्रजिअ कटुवालले भने, ‘स्थिती चुनौतीपूर्ण बन्दै गएको छ ।’ उनले आइतबार बैठक स्थगित गरिएपनि पुन छलफल र संवादलाई स्थानीयस्तरमा निरन्तरता दिँदै समाधानको उपाय खोजिने बताए ।