चैत्र ६, २०७३– क्राएग डावसनले दुई हेड गोल र हल रोब्सन कानुको अर्को गोलमा वेस्ट ब्रोमले शनिबार इङलस प्रिमियर लिगमा आर्सनलमाथि ३–१ को विजय हात पारेको छ । यसले आर्सनलका व्यवस्थापक आर्सन वेंगरमाथिको दबाब झन् बढाएको छ ।
नतिजापछि २७ खेल खेलेको आर्सनल ५० अंकसाथ पाँचौं स्थानमा यथावत् छ । टोली चौथो स्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि छ । आर्सनलभन्दा एक खेल बढी खेलेको लिभरपुलले आइतबार म्यानचेस्टर सिटीसँग खेल्दै छ । प्रिमियर लिगका शीर्ष चार टोली अर्को सिजनको च्याम्पियन्स लिगमा खेल्न पाउने प्रावधान छ ।
वेस्ट ब्रोम २९ खेलमा ४३ अंकसाथ आठौं स्थानमा कायम छ । बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको अन्तिम १६ मा पाएको १०–२ को लज्जास्पद हारलगत्तै आर्सनलमाथि वेस्ट ब्रोमले अर्को प्रहार गरेको हो । खेल सुरु हुनुअगाडि नै समर्थकले आर्सनल व्यवस्थापकविरुद्ध वेंगर आउट भन्दै ब्यानर प्रदर्शन गरेका थिए ।
डावसनको गोलमा घरेलु टोलीले १२ औं मिनेटमा गोल गरे पनि एलेक्सिज सान्चेजले तीन मिनेटपछि आर्सनललाई बराबरीमा ल्याएका थिए । वेस्ट ब्रोमले दोस्रो हाफमा दुई गोल थपेको थियो ।