images
images

२ करोड ३४ लाख कित्ता सेयर सूचीकृत

चैत्र ६, २०७३- गत साता सेयर बजारमा २ करोड ३४ लाख २९ हजार ९ सय १४ कित्ता सेयर सूचीकृत भएका छन् । तीनवटा कम्पनीको बोनस र एउटा कम्पनीको हकप्रद गरी उल्लिखित सेयर सूचीकृत भएका हुन् । उक्त अवधिमा चिलिमे जलविद्युत् कम्पनीको ३१ लाख ३४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । हाम्रो विकास बैंकको ३ लाख ५ हजार कित्ता र कन्ट्री डेभपलमेन्ट बैंकको ३ लाख १ हजार कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । यस्तै, सोही अवधिमा कृषि विकास बैंकको १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

साप्ताहिक सेयर कारोबारमा बैंकिङ, होटेल र विकास बैंकबाहेक सबै समूहको परिसूचक बढे । घट्नेभन्दा बढ्ने परिसूचक बढी भएपछि समग्र नेप्से परिसूचक २.११ अंकले बढ्यो । नेप्से सकारात्मक बनेपछि ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ ०.४२ अंकले बढ्यो । कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.१ अंकले सकारात्मक देखियो ।

गत साता नेप्सेमा १ सय ५६ कम्पनीका ३८ लाख ५३ हजार १ सय ६० कित्ता सेयर खरिद–बिक्री भए । ती खरिद–बिक्रीबाट १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो साताको तुलनामा कारोबार रकम २२.०९ प्रतिशतले कम हो । अघिल्लो साता ४५ लाख ७६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार सार्वजनिक बिदा परेकाले सोमबारदेखि मात्र सेयर कारोबार सुरु भयो । सोमबार १ हजार ३ सय ५५.२३ बिन्दुमा रहेको नेप्से बिहीबार १ हजार ३ सय ५७.३४ मा उक्लियो । उक्त अवधिमा सेयर बजारको आकार (बजार पुँजीकरण) करिब ३ अर्ब रुपैयाँले विस्तार भएको छ । सोमबार १५ खर्ब ३६ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण बिहीबार १५ खर्ब घटेर ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

विगतमा जस्तै गत साता पनि कुल कारोबारमा बैंकिङ र बिमा कम्पनीहरूको हिस्सा धेरै रह्यो । कुल कारोबारमा वाणिज्य बैंक आवद्ध बैंकिङ समूहको हिस्सा ४१.७ प्रतिशत छ । अघिल्लो साता यस्तो हिस्सा ५१.२३ प्रतिशत थियो । यस्तै, बिमा समूहको हिस्सा २४.७४ प्रतिशत छ । अघिल्लो साता यो समूहको हिस्सा २८.२३ प्रतिशत थियो ।

साताभरको कारोबारमा विकास बैंकको हिस्सा ३.८, वित्त कम्पनीको ०.६५, होटेलको ०.५५, जलविद्युत्को ४.८६, उत्पादन तथा प्रशोधनको ०.११ प्रतिशत रह्यो । यस्तै, ‘अन्य’ को ०.४७, संस्थापक सेयरको २०.३८ र लघुवित्त संस्थाहरूले २.३५ प्रतिशत हिस्सा ओगटेका छन् ।

नेप्सेमा सूचीकृत ९ वटा समूहमध्ये गत साता ८ समूहअन्तर्गतका कम्पनीको सेयर कारोबार भयो । तीमध्ये बैंकिङ, होटल र विकास बैंक समूहको परिसूचक घटे । बाँकी समूहको परिसूचक बढे । बैंकिङ समूहको परिसूचक २.७४, होटलको १९.६३ र विकास बैंक समूहको २.३४ अंकले घटे । तर, बिमा समूहको परिसूचक सबैभन्दा बढी साढे ६४ अंकले र जलविद्युत्को करिब ३८ अंकले उकालो लागे । यस्तै, वित्त कम्पनीको २.७५, उत्पादन तथा प्रशोधनको ७.६७ र ‘अन्य’ को साढे ५ अंकले सकारात्मक रहे ।