चैत्र ६, २०७३– ललितपुर उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पुगेको छ । समारोहमा राष्ट्रियस्तरमा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय उत्पादकत्व पुरस्कार (नेसनल प्रडक्टिभिटी एवार्ड) प्रदान गरिने घोषणा गरिएको छ ।
पचासौं स्थापना दिवसका असरमा आयोजित एक कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले लगानीको वातावरण बन्दै गइरहेको दाबी गरे । ‘गत फागुण महिनामा सम्पन्न लगानी सम्मेलनबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ,’ उनले भने, ‘उद्योग मन्त्रालय उद्योगी, व्यवसायीहरूको सम्पूर्ण समस्याहरूको एकद्वारे समाधानको लागी प्रयासरत छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले लगानी सम्मेलनबाट व्यवसायीहरू उत्साहित भएको र संसारभर नेपालमा लगानीका अवसर प्रशस्त रहेको बताए । उनले सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनमा ल्याउन सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए ।
समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्राकार, महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानलगायतले मन्तव्य राखेका थिए ।