images
images

छुरा प्रहारबाट राईको ज्यान गयो, तीन घाइते

चैत्र ५, २०७३– सामान्य विवादमा छुरा प्रहार गरी धरान–१५ बाँझोगरास्थित गणतन्त्र बस्ती बस्ने एक युवाको शनिबार दिउँसो गरिएको छ । छुरा प्रहारबाट २६ वर्षीय भक्त राईको हत्या भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । उनकाअनुसार धरान–१५ ललित टोलका शुक्रराज राई, रत्न खत्री, भुक्के भन्ने प्रज्वल तामाङको समूहले भक्तलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । पेट र छातीमा छुरा प्रहारपछि घाइते भक्तलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउँदाल्याउँदै मृत्यु भएको थियो । प्रतिष्ठानमा पुर्‍याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार युवाहरुको झगडा हुँदा धरान–१५ ललित टोलका शुक्रराज राई, रत्न खत्री, भुक्के भन्ने प्रज्वल तामाङ घाइते भएका छन् । राईको औंला छिनेको छ । खत्रीको टाउको फुटेको छ । तामाङ कोखामा छुरी प्रहार भएको छ । हत्यामा संलग्न तीनजना राजन विक, राजु राई, विक्रम परियार फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घाइतेहरुका अनुसार ललित टोलबाट हराएको साइकल नजिकैको गणतन्त्र बस्तीमा फेला परेपछि साइकल चोर खोज्दै जाँदा भक्त र उनीहरुबीच आइस्क्रिमको विषयमा विवाद भएको थियो । खत्री, राई, तामाङलगायतले बाटोमा बिक्री गरिरहेको आइस्क्रिम किनेर खाएको बेला भक्त राईले ‘किनेर खाएको कि त्यत्तिकै खाएको’ भनेर निहुँ खोजेपछि विवाद सुरु भएको थियो ।

विवाद लम्बिँदै गएपछि रिस थाम्न नसकेर भक्तले प्रज्वलको दाँया कोखामा पहिला छुरी हानेलगतै तीनजना मिलेर भक्तमाथि छुरी प्रहार गर्दा भक्तको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घाइते अवस्थामा उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा आएका बेला पक्राउ परेका तर तिनै जनाले भक्तलाई आफूले छुरी प्रहार नगरेको दाबी गरेका छन् । ‘भक्तलाई कस्ले छुरी हानेको हो थाहा छैन’ भनेर तीनैजनाले भन्ने गरेका छन् ।