images
images

लुम्बिनी खुकुरी र वेस्टर्न विजयी

चैत्र ५, २०७३– लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले शुक्रबार टान्टी–२० क्रिकेट प्रतियोगितामा बुद्ध क्रिकेट क्लबलाई १ सय ९ रनले पराजित गरेको छ । टस जितेको लुम्बिनीले र्निधारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५९ रन बनायो । कप्तान अन्तिम थापाले ६५ र शंकर रानाले २५ रनको योगदान दिए । बुद्धका सन्दीप साहनी ३ विकेट लिन सफल भए ।

जवाफमा बुद्ध टिम १६.१ ओभरमै ५० रनमै समेटियो । दिपेश झाले १७ रन बनाए । ह्याट्रिकसहित ५ विकेट लिएका लुम्बिनी खुकुरीका साह आलम म्यान अफ द म्याच घोषित भए । शुक्रबारै वेस्टर्न क्रिकेट क्लब बुटवलले ज्ञानोदय क्रिकेट क्लब करहियामाथि ८ विकेटको जित पायो । टस जितेको ज्ञानोदयले १९.५ ओभरमा अलआउट हुँदा १ सय १२ रन बनाएको थियो । लक्ष्मण खत्रीले ३० र निशान्त शर्माले २२ रन बनाए । वेस्टर्नका लागि सौरभ खनालले २ विकेट लिए । वेस्टर्नले १४.३ ओभरमै २ विकेट गुमाएर १ सय १३ रनको लक्ष्य पार गर्‍यो ।

म्यान अफ द म्याच सौरभ खनालले नटआउट ८४ र सन्दीप सुनारले १७ रन बनाए । ज्ञानोदयका सन्तोष क्षेत्री र निशान्त शर्माले १–१ विकेट लिए । आयोजक रुपन्देही जिल्ला क्रिकेट संघले विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउने जनाएको छ । उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५ हजार प्राप्त गर्ने छन् ।