images
images

प्रबलको बलिउड कनेक्सन

बलिउडसँग प्रबलको सामीप्यता बढाउन करण जौहरको अहम् भूमिका छ । जो अहिले एकअर्काका अत्यन्त निकट छन् । करणको बर्थ डे मनाउन १३ वर्षपछि प्रबल मुम्बई पुगेबाटै उनीहरूको सम्बन्धको प्रगाढता देखाउँछ ।

चैत्र ४, २०७३- म हिन्दी फिल्म हेर्दै हुर्किएँ । बलिउडले मलाई उड्न सिकायो । ठूला सपना देख्न, त्यसलाई पूरा गर्न अनि निडर हुन सिकायो,’ गत अक्टोबरमा हिन्दुस्तान टाइम्ससँग नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ भन्दै थिए, ‘मेरो डिजाइनमा समेत बलिउडको ठूलो प्रभाव छ ।’ त्यतिबेला उनी चर्चित फेसन उत्सव ‘ले मिला’ मा सहभागी हुन न्युयोर्कबाट मुम्बई झरेका थिए । प्रबलको उपस्थिति निधो भएसँगै मूलधारका भारतीय मिडियाले उनलाई खुबै पछ्याउन थालेका थिए । कारण थियो, फेसन वल्र्डका यी ‘हटकेक’ डिजाइनरका कलेक्सन भारतमा उपलब्ध भएको आठ वर्षमा त्यो पहिलो अवसर थियो । विश्वविख्यात सेलिब्रिटीलाई डिजाइन गरेर वाहवाही कमाइसकेका प्रबलका लागि भारतीयको मन जित्नु नौलो कुरै भएन । ‘ले मिला’ बाट फर्किएको दुई महिनापछि प्रबल आफ्नो व्यस्त सेड्युलबाट समय निकाल्दै फेरि मुम्बई आए, जिओ मामी मुम्बई फिल्म फेस्टिभलको अठारौं संस्करणको पाहुनाका रूपमा । जहाँ उनी एउटा सेसनको वक्ता पनि थिए, कैटरिना कैफसँगै । अनि मोडरेटरचाहिँ उनका जिक्री दोस्त करण जौहर । करणले सुरुवातमै बडो महत्त्व दिएर भनिदिए– ‘प्रबल बलिउडका क्रेजी हुन् । उनलाई अधिकांश हिन्दी फिल्मका गीतको रिलिक्स कण्ठस्थ छ । ती गीत गुन्गुनाउन र नाच्न भनेपछि हुरुक्कै हुन्छन् ।’


करण यत्तिमै रोकिएनन् । उनले अगाडि थपे– ‘अहिले न्युयोर्कमा हरपल हलिउड सेलिब्रिटीले घेरिँदा पनि घर पुगेपछि माधुरी दीक्षितवाला डान्सिङ गीतहरू नसुनी प्रबल निदाउनै सक्दैनन् ।’ कार्यक्रम हलमा हाँसोको फोहोरा छुट्यो । सबैलाई प्रबलकै प्रतिक्रियाको पर्खाइ थियो । उनी पनि के कम ? मुस्कुराउँदै भनिदिए– ‘करणले शतप्रतिशत सत्य भनेका हुन् । अझ भन्नु हुन्छ भने मेरो बलिउड प्रेम त्योभन्दा ज्यादा छ ।’

शंकै रहेन, प्रबलको बलिउडका ‘बिग फ्यान’ हुन तर शंका केमा पनि छैन भने ‘बि–टाउन’ का गिनेचुनेका हिरोइनहरू नै प्रबलका डिजाइनमा सजिन मरिहत्ते गर्छन् । उनीहरू स्वयम् प्रबलका वेयरलाई प्रतिष्ठाको विषय बनाउन थालेका छन् । नबनाउनु पनि कसरी, फस्ट लेडी मिचेलदेखि कैट मिडिलटोन, ओपरा विन्फ्रे, लेडी गागा, जेनिफर लरेन्स, इमा वाट्सनलगायतका दर्जनौं हाइप्रोफाइलले प्रबलको डिजाइनमा आफूलाई प्रस्तुत गरिसकेका छन् ।

तर, मिजासिलो स्वभावका प्रबल विश्वको तेस्रो ठूलो फिल्म उद्योग बलिउडमा आफ्नो बजार विस्तार गर्न मात्र चाहिरहेका छैनन् । चर्चित सेलिब्रिटीसँगको घनिष्ठता र हिन्दी फिल्म अनि मुम्बईप्रति उनको बेग्लै स्नेह छ । जस्तो, मुम्बईवासी, यहाँको रंग, टेक्स्चर, कला, आर्किटेक्चर र इतिहास निकै प्रेरणादायी रहेको भन्दै उनी खुलेर तारिफ गर्छन् । भारतको संस्कृति र फेसनसँग पनि उनी उत्तिकै प्रभावित छन् । भन्छन्, ‘भारत परम्परा र संस्कृतिमा धनी छ, जुन यसको ‘ब्युटी’ हो । परम्परा र आधुनिकको पर्फेक्ट संयोजन भएकैले भारतको फेसन आज यो ठाउँमा आइपुगेको छ ।’

बलिउडसँगको प्रबलको सामीप्यता बढाउन भने करण जौहरको अहम् भूमिका छ । जो अहिले एकअर्काका अत्यन्त निकट छन् । करणको बर्थ डे मनाउन १३ वर्षपछि प्रबल मुम्बई पुगेबाटै उनीहरूको सम्बन्धको प्रगाढता देखाउँछ । करण पनि अमेरिका पुग्नासाथ ‘माई न्युयोर्क बेस्टी’ भन्दै प्रबलसँगको तस्बिर इन्स्टाग्राममा अपलोड गर्छन् । अहिले जसरी करण प्रबलको संघर्ष र सफलताबाट अन्त्यन्त प्रभावित छन्, त्योभन्दा ज्यादा करण र उनका फिल्मका फ्यान हुन् प्रबल । ‘कुछ कुछ होता है’ उनको बेस्ट फिल्म हो । उमराव जान र चाँदनी फिल्मबाट आफ्नो कटिङ प्रभावित भएको बताउँछन् । सञ्जयलीला भन्साली र यश चोपरा पनि उनलाई मन पर्ने फिल्म मेकर हुन् । वहिदा रहमानको फेसनको ठूलो प्रशंसक हुन् उनी ।

पुराना हिरोइनमा रेखा र श्रीदेवी उनलाई औधी मन पर्छ । उनले पटकपटक यी दुवै हिरोइनका लागि डिजाइन गर्न चाहेको बताइसकेका छन् । पछिल्लो पुस्तामा उनका प्रिय हिरोइन हुन्, आलिया भट्ट । आलियालाई त उनले ‘माई फेभरेट एक्टर एक्रस द ग्लोब’ भनिसकेका छन् । उनका लागि पनि डिजाइन बनाइसकेका छन् । आलियाबाहेक बलिउड सुन्दरीहरू दीपिका पादुकोण, कैटरिना कैफ, सोनम कपुर, अनुष्का शर्मा र प्रियंका चोपराले पनि प्रबलका वेयर पहिरिसकेका छन् । जब कुनै हिरोइनले उनका डिजाइन लगाउँछन्, तब भारतीय मिडियामा ठूलै समाचार बनिहाल्छ ।

नेहा धुपिया प्रबलसँग न्यु इयर मनाउनकै लागि अमेरिका पुगेकी थिइन्, २०१७ को पूर्वसन्ध्यामा । त्यतिबेला इन्स्टाग्राममा प्रबलसँगको फोटो अपलोड गर्दै क्याप्सन राखेकी थिइन्, ‘यदि यो केटासँग नयाँ वर्ष सुरुवात भयो भने सन् २०१७ मा हामीसँग फेसन गड्स मुस्कुराउन सक्छन् ।’ नेहामात्र होइन, बलिउडका अरू हस्ती पनि प्रबलसँगको भेट र उनका डिजाइनलाई ‘गर्व’ का रूपमा लिन्छन् ।

उनी पनि के कम, लाइमलाइटमा रहेका हिरोइनहरूलाई विभिन्न उपमा दिएर फुर्काइरहन्छन् । उनको नजरमा सोनम ड्रेसका मामलामा ‘एक्सपेरिमेन्टल’ छिन् । फिल्मी सेलेब्सको फेसन सेन्स बदलेको क्रेडिट पनि सोनमलाई नै दिन्छन् । प्रियंकाले आधुनिक भारतीय महिलाको छवि पुन: परिभाषित गरेको र आलिया ‘युथ फेसन आइकन’ भएको उनको बुझाइ छ । यस्तो लाग्छ, मूलधारका यी फेसन डिजाइनरले कुनै दिन हिन्दी फिल्मको लागि डिजाइन गरे भने पनि अचम्म नमाने हुन्छ । स्मरण रहोस्, न्युयोर्कको बाटो तताउनु पहिले उनले आठ वर्ष भारतमा बिताएका थिए । त्यसक्रममा केही समय डिजाइनर मनीष अरोरासँग काम गरेका थिए ।

उता, बलिउडसँग प्रबल अनि प्रबलसँग बलिउड ज्यादै नजिकिरहेका छन् । व्यक्तिगत र व्यावसायिक दुवै हिसाबले । यता, नेपाली फिल्मवृत्त र सेलिब्रिटीसँग प्रबलको सम्बन्ध करिब शून्य छ । अहिलेसम्म कुनै नेपाली फिल्मी स्टार उनको डिजाइनमा सजिएका छैनन् । प्रियंका कार्की र निशा अधिकारीका लागि उनले डिजाइन गर्ने भनेको वर्षै बित्न लाग्यो । तर त्यस्तो मौका जुरेको छैन ।
(एजेन्सीहरूको सहयोगमा)