चैत्र ३,काठमाडौं– सरकारले डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने भएको छ । स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी, गुणस्तरीय एवं पहुँचयोग्य बनाउन स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो।
मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले ‘स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७३’ पास गरिसकेको छ। उक्त कार्यविधिमा स्वास्थ्यका कर्मचारीले आठ वटा सूचकका आधारमा सुरु तलबको ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउनेछन्।
कार्यविधि अनुसार स्वास्थ्यका कर्मचारीलाई सूचकका आधारमा ५ देखि २५ नम्बरसम्म प्रदान गरिनेछ। उक्त आधारमा कर्मचारीले प्राप्त गरेको अंकभारका आधारमा भत्ता प्रदान गरिने व्यवस्था छ। कार्यविधिमा कर्मचारी भनेर स्वास्थ्य सेवामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवाका अन्य कर्मचारी भनेर परिभाषित गरिएको छ। यस्तै, स्वास्थ्य संस्था भनेर मन्त्रालय माताहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र अन्तरङ्ग सेवा सञ्चालन हुने स्वास्थ्यचौकी रहेका छन्।
के गरे कति नम्बर
कर्मचारीले नियमित रुपमा समयमा प्रतिमहिना २० दिन हाजिर भएमा ५ अंक, दैनिक २ पटक वार्ड वा आकस्मिक राउन्ड लिएमा २०, महिनामा २० पटक क्लिनिकल अडिट गरेमा १५, हप्तामा एकपटक अनकल तथा अन डिउटी सेवामा खटिएमा २५, दुई हप्तामा एक पटक बिरामीको मृत्युको कारण र मृत्युदर (मोर्बिडिटी र मोर्टालिटी) को समीक्षा गरेमा ५ अंक पाउनेछन्।
बिरामीको परीक्षण पश्चात रजिस्ट्ररमा उपचार विवरण उल्लेख गरेमा १०, सबै कर्मचारीको ड्युटी रोस्टर तयार गरी माथिल्लो निकायमा नियमित प्रतिवेदन प्रेसित गरेमा १० र ३ देखि ५ बजेसम्म सेवा विस्तार वा विस्तारित स्वास्थ्य सेवा (इएचएस) सञ्चालन गरेमा १० अंक पाउनेछन्।
स्वास्थ्य मन्त्री गगन थापाले कर्मचारीको मनोबल बढाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउन विशिष्ट सेवा प्रदान गर्न प्रोत्साहन भत्ता दिने व्यवस्था ल्याइएको बताए। ‘सरकारी स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी र जनताले सहज रुपमा सेवा पाउन सकुन् भनेर नयाँ व्यवस्था गरिएको हो,’ उनले भने, ‘यो कार्यविधि अनुसार ५ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्ने संस्थामा कार्यरत कर्मचारीले थप रकम पाउनेछन्।’ उनले कार्यविधिमा स्विकृति नलिई निजी व्यावसाय सञ्चालन तथा निजी प्राक्टिस गर्न समेत रोक लगाइएको बताए। स्वास्थ्य खबर पत्रिका मा दीएको छ |
कार्यविधि अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा बिहान ९ देखि ३ बजेसम्म नियमित ओपिडी र ३ देखि ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा अन्तर्गत ओपिडी सञ्चालन हुनेछ। मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघिको ‘स्वास्थ्य मन्त्रालय मातहतका निकायमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पालना गर्नुपर्ने सेवा शर्त र सुविधा सम्बन्धी कार्यविधि २०७३’ लाई परिमार्जन गर्दै नयाँ कार्यविधि पास गरेको हो।
निजी अभ्यासका लागि स्विकृति चाहिने
कार्यविधिको दफा ८ मा व्यवसाय सञ्चालन तथा निजी प्राक्टिसका लागि अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था छ। जसअन्तर्गत ११ वटा बुँदा राखिएका छन्। दफाको पहिलो नम्बर बुँदामा ‘सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले कार्यालय समयभित्र आफू कार्यरत रहेको वा अन्य सरकारी स्वास्थ्य संस्थामा बाहेक निजी स्वास्थ्य संस्थामा सेवा वा काम गर्न पाउने छैन’ भनी उल्लेख छ। यस्तै, निजी स्वास्थ्य संस्थाले समेत कार्यालय समयमा सरकारी सेवामा कार्यरत कर्मचारीलाई काममा लगाउन नपाउने व्यवस्था २ नम्बर बुँदामा गरिएको छ।
उक्त दफामा कार्यालय समय बाहेकको समयमा आफू कार्यरत संस्थाको काममा बाधा नपुग्ने गरी निजी प्राक्टिस गर्न वा व्यापार व्यवसाय गर्न इच्छुक अधिकृत स्तरको कर्मचारीले मन्त्रालयको चिकित्सा सेवा महाशाखाबाट र सहायक स्तरका कर्मचारीले सम्बन्धित विभाग वा क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट स्विकृति लिनुपर्ने व्यवस्था गरिएको छ। कसैले कार्यविधि विपरित स्विकृति नलिई निजी अभ्यास वा व्यवसाय गरेमा त्यस्ता संस्था खारेज गर्नेदेखि लिएर काम गर्ने कर्मचारीलाई सम्बन्धित काउन्सिलले कारबाही गर्नेछ।