चैत्र ३, पुरुषका अनेकौं विशेषता होलान् जुन महिलालाई मन पर्छन् । यति हुँदाहुँदै पनि महिलाहरू पुरुषको कुनै एक कुराले मात्र पनि उनीहरूलाई नरुचाउन सक्छन् । थुप्रै गुण हुँदाहुँदै पनि एउटै दुर्गुणका कारण पुरुषलाई आफूयोग्य नभएको बताउन हिच्किचाउँदैनन् महिलाहरू । पुरुषका त्यस्ता केही कुरा जुन महिलाहरू रुचाउँदैनन् :
स्वयंलाई विशिष्ट मान्ने
पुरुष प्रधान समाज अन्त्यतर्फ उन्मुख भैसकेको छ तसर्थ अब आफूलाई विशिष्ट वा सुपर मान्ने पुरुष महिलाको रोजाइमा पर्न सक्दैनन् । महिलाहरू यस्ता साथी रुचाउँछन् जो आफ्नो क्षमता एवं उपलब्धिद्वारा चिनिएको होस्, विशिष्ट भएको होस् न कि पुरुष भएकै कारण उसलाई विशिष्ट मानियोस् । लैङ्गिक रूपले बराबरीको दर्जा दिने पुरुषहरू नै हिजोआजका महिलाका रुचिमा पर्न सफल हुन्छन् ।
अधिकार प्रयोग गर्ने वा तानाशाह
वर्तमान समयका आत्मनिर्भर महिला तानाशाही किसिमका पुरुष साथीलाई स्वीकार गर्दैनन् । उनीहरू दबाउन खोजिएको रुचाउँदैनन् किनभने उनीहरू साथीबाट उचित सम्मानको अपेक्षा गर्छन् । जसले महिलालाई कमजोर वा हीन सम्झेर हेप्न खोज्छन् त्यस्ता पुरुषलाई महिलाहरू पटक्कै रुचाउँदैनन् । आफूलाई सम्मान दिने पुरुषलाई नै उनीहरू पनि सम्मान दिन्छन् र रुचाउँछन् ।
रवाफिलो
रवाफिलो पुरुष सिनेमाका पर्दामा मात्र रुचिका पात्र भएका छन् । आजका अधिकांश महिला रवाफिला पुरुषप्रति त्यति रुचि देखाउँदैनन् । कुनै समयमा रवाफिलो, पुरुषोचित रिसयुक्त एवं कम बोल्ने पुरुष भद्र तथा गम्भीर पुरुष महिलाका रुचिभित्र पर्थे । वर्तमान समयमा कोमल हृदययुक्त, सदैव खुसी देखिने तथा गम्भीर देखिनुको साटो हाँस्ने–हँसाउने स्वभावका पुरुष महिलाका रुचिमा समेटिन थालेका छन् ।
सधैं सहवासकै विषयमा सोच्ने
सत्य हो कि पुरुषहरू सहवासमा चाँडै सक्रिय हुन्छन् । महिलाहरू पनि सहवासबाट जोगिन चाहन्छन् वा यसबाट आनन्द लिँदैनन् भन्ने होइन । यद्यपि महिलाहरू त्यस्ता पुरुषलाई रुचाउँदैनन् जसको दिमागमा जतिसुकै बेला पनि सहवासकै कुरा मडारिइरहेको होस् । एक प्रसिद्ध यौन मनेवैज्ञानिकका अनुसार ‘महिलाहरू आफ्ना जीवनसाथीसित सम्भोग गर्न रुचाउँदैनन्, सेक्समा त्यति सक्रिय हुदैनन् भन्ने होइन । बरू महिलाहरू शारीरिकभन्दा भावनात्मक सम्बन्ध राख्ने पुरुषसाथीलाई बढी रुचाउँछन् । त्यस्ता साथीलाई रुचाउँदैनन् जो ‘बेला न कुबेला बजि नयेला’ भनेझैं हरदम सहवासकै लागि उत्प्रेरित रहोस् । यस्तो भए समझदारी तथा प्रेम नै गौण हुन्छ जुन कुनै पनि महिलाका लागि रुचिकर हुँदैन ।’
अभद्र व्यवहार तथा अपशब्द बोल्ने
कुनै समय थियो, पुरुषहरूले अपशब्द बोल्नुलाई नौलो मानिँदैनथ्यो । भलै महिलाहरूले त्यसो गर्न नपाऊन् तर पुरुषका लागि त्यसो गर्न छुटजत्तिकै थियो । यद्यपि अब त्यो जमाना रहेन । महिलालाई हेपेर कुरा गर्ने वा उनीहरूप्रति अपशब्द प्रयोग गर्ने पुरुषलाई आजका महिलाहरू फिटिक्कै रुचाउँदैनन् । महिलाहरू संस्कारवान्, शिष्ट एवं मृदुभाषी पुरुष नै रुचाउँछन् ।
बिनाकारण बहस गर्ने
अनावश्यक कुरामा बहस गर्न तम्सिने पुरुष महिलाहरूको रुचिभित्र पर्दैनन् । सँगै बस्दा पनि अनावश्यक कुराकै कारण असहज महसुस हुन थाले त्यो पारस्परिक सम्बन्धका लागि अनिष्टकारी हुन्छ । यस्ता पुरुष न आफू सुखी हुन्छन् न त अरूलाई खुसी हुन दिन्छन् । त्यस्ता पुरुषलाई महिलाहरू रुचाउँदैनन् ।
अहंकारी
अहंकारवश रुखो व्यवहार गर्ने पुरुषले पनि महिलाको मनमा स्थान बनाउन सक्दैनन् । आफ्नै कुरा मात्र सही अरू सबै गलत भन्ने धारणा भएका पुरुषसँग पनि महिलाहरू तर्किन्छन् । महिलाहरू त्यस्ता पुरुषलाई नकार्छन् जो अरूको योग्यता मान्न तयार हुँदैनन् तर आफूमा भने नभएको क्षमता पनि छ भनेर फुर्ती लगाउँछन् । मनोवैज्ञानिकहरूका अनुसार त्यस्ता व्यक्ति हीनभावनाले ग्रसित हुन्छन् । अहंकारले कसैलाई पनि प्रभावित गर्न सकिँदैन अझ महिलालाई त पटक्कै सकिँदैन ।
असुरक्षित वा कमजोर भावना
सदैव कमजोरी दर्साइरहने तथा भावनामा बगिरहने पुरुष पनि महिलाको रोजाइमा पर्दैनन् । महिलाहरू त आत्मनिर्भर एवं आत्मविश्वासी पुरुषलाई रुचाउँछन् । सदैव श्रीमतीमै निर्भर रहन खोज्ने वा आफूसित हरेक कुरामा डराउने जोइटिङ्ग्रे पुरुषलाई पनि महिलाहरूले मन पराउँदैनन् ।
आवश्यकताभन्दा बढी मातृभक्त
हरेक समय आफ्नी आमाको गुण गाइरहने तथा आफूसित हुने हरेक कुरा आमासित गर्ने पुरुषलाई पनि कुनै महिलाले रुचाउँदैनन् । आमाले जे भन्छिन् त्यही काम मात्र गर्ने आवश्यकताभन्दा बढी मातृभक्त पुरुष पनि श्रीमतीका प्रिय हुन सक्दैनन् । यस्ता पुरुषसित महिलाहरू चाँडै रिसाउँछन् ।
गैरजिम्मेवार
कर्तव्य वा जिम्मेवारीबाट भाग्ने अल्छी तथा कामचोर पुरुष महिलाहरूको रुचिभित्र पर्दैनन् । उनीहरू आफ्ना श्रीमान्ले पारिवारिक एवं सामाजिक जिम्मेवारी कुशलतापूर्वक बहन गरोस् र श्रीमतीले कमाइहाल्छे, उसैले सबै व्यवहार धानिहाल्छे भने मैले किन दु:ख गर्नुपर्यो भनी गैरजिम्मेवार बन्ने पुरुषदेखि वाक्कदिक्क हुन्छन् ।