images
images

कञ्चनपुर घटनामा गल्ती स्वीकार्न भारतलाई गरे गृहमन्त्रीले आग्रह

चैत्र ३ , २०७३- उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नमा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन आएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसंगको भेटघाटमा व्यस्त छन् । उनले नेपालको अनुसन्धानले गोली भारतिय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराएका थिए ।

प्रत्युत्तरमा डोभलले घटना दु:खदायी भएको बताएका थिए । ‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधीले कान्तिपुरसंग भने । निधिले भारतिय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए ।

‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उनले भने । निधिले आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उनले बताए । भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने वताएको छ ।

भारतले यस अघि नै घट्नाबारे आफ्नो तर्फबाट छानबिन शुरु भएको वताएको थियो । निधि र डोभलबीचमा दुई देशको सीमामा रहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भएको थियो । निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटघाट गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत भेटघाट गर्ने भनिए पनि समय तय भईसकेको छैन् ।

निधीको भ्रमणलाई नेपाल र भारत दुवैतर्फका अधिकारीहरूले एक अर्काको राय वुझने अवसरका रुपमा उपयोग गरिरहेको स्रोतले जनायो । भारतले मधेशवादी दलहरुको माग र निर्वाचनबारे सरकारको धारणा बुझ्न चाहेको छ । मधेशवादी दलहरुका माग सम्वोधन गरेरमात्र निर्वाचनमा जान उसको आग्रह छ ।