images
images

पुलिस विरुद्ध जित दर्ता गर्दै रूपन्देही फाइनलमा

संकटा र रूपन्देही फाइनल भिड्ने

चैत्र २, २०७३- विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै रूपन्देही ११ मंगलबार यहॉ जारी टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकपको फाइनल पुगेको छ । रूपन्देहीले उपाधिका बिहीबार संकटासँग खेल्नेछ ।

स्थानीय महेन्द्र रंगशालामा मंगलबार दोस्रो सेमिफाइनलमा रूपन्देहीले पुलिसलाई २–१ ले पराजित गरेको थियो । मध्यान्तरसम्म खेल १–१ को बराबरीमा थियो । ३३ औं मिनेटमा पेनाल्टी गोलमा पुलिसले अग्रता लिएको हो । पेनाल्टी एरियाभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीमा पुलिसका जुमनु राईले गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै रूपन्देहीले खेल बराबरीमा ल्यायो । ३६ औं मिनेटमा अमर डंगोलले फ्रिकिकमा आएको बलमा हेडिङ गर्दै आकर्षक गोल गरेका थिए ।

दोस्रो हाफमा खेल थप रोचक बनेको थियो । रूपन्देहीका अमरलाई रोक्न पुलिसको रक्षापक्तिलाई हम्मे परेको थियो । ७५ औं मिनेटमा कर्नर बलमा अमरले गोल थपेपछि पुलिसमाथि दबाब बढेको थियो । म्यान अफ द म्यान अमर नै भए ।

पुलिसले केही अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा बाहिरिनुपरेको छ । ‘सुरुमै अग्रता लिएर पनि जोगाउन नसक्नु कमजोरी रह्यो,’ पुलिसका प्रशिक्षक कुमार कटवालले भने, ‘रूपन्देहीले सुरुदेखि अन्त्यसम्म राम्रो खेल्यो ।’

पुलिसका कप्तान जुमनु राईले आफ्नो टिमले सोचेजस्तो राम्रो खेल्न नसकेको स्वीकारे ।

रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटा भने दुवैले राम्रो खेले पनि आफ्नो टिमले ठीक समयमा अवसर उपयोग गरेकाले जित सम्भव भएको बताउँछन् ।

कप्तान दिलीप क्षेत्री पुलिसको टिम सँधैं राम्रो हुने भएकाले आफ्नो टिम पर्याप्त मिहिनेतसाथ मैदान उत्रिएकाले सफलता पाएको बताए । ‘जित्नुपर्छ भन्ने थियो । त्यहीअनुसार सिंगो टिमले मिहिनेत गरेर सफल भइयो,’ उनले भने । गत वर्ष बुढासुब्बा गोल्डकपपछि पुलिस र रूपन्देहीको नेपालगन्जमा पहिलो भेट भएको हो । रूपन्देहीले पुलिससँग बुढासुब्बामा १–० को हारको बदला लिएको छ ।