इंग्लिस प्रिमियर लिगमा रेलिगेसन टार्न संघर्षरत लेस्टर सिटी युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।
चैत्र २, २०७३- इंग्लिस क्लब आर्सनल सात सिजनयता लगातार नकआउट यात्रा तय गरे पनि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न सकेको छैन । तर, १६ वर्षपछि युरोपेली प्रतियोगितामा फर्किएको लेस्टर सिटी स्पेनी क्लब सेभियालाई पन्छाउँदै मंगलबार च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
गएको सिजन (२०१५–१६) मा सट्टेबाजीमा ५०००–१ को स्थिति उल्टाउँदै लेस्टर अविश्वसनीय रुपमा प्रिमियर लिग च्याम्पियन भएको थियो । यसलाई विश्व फुटबलमै एक जुगमा एकपल्ट हात पार्ने सफलताको रुपमा लिइन्छ । किनभने उसलाई लिगपूर्व रेलिगेसनमा पर्ने टिमको रुपमा हेरिएको थियो । सन् २०१४ मा च्याम्पियनसिप (दोस्रो डिभिजन) जित्दै प्रिमियर लिगमा उक्लिएको लेस्टरले २०१४–१५ मा पछिल्ला नौमध्ये सात खेल जितेर रेलिगेसन टारेको थियो । त्यसैले उसलाई घटुवामा पर्नसक्ने अनुमान गर्नु अस्वाभाविक थिएन । तर, उसले जादूयी खेल पस्कँदै उपाधि नै कब्जा गर्यो ।
प्रिमियर लिगको सफलताको आधारमा लेस्टरले यो सिजन (२०१६–१६) मा महादेसीय प्रतियोगिता च्याम्पियन्स खेल्ने अवसर पायो । र, उसले यसमा पनि अविश्वसनीय खेल पस्किरहेको छ । किङ पावर स्टेडियममा मंगलबार भएको अन्तिम १६ को खेलमा कप्तान वेस मोर्गान र मार्क अल्ब्राइटनले गोल गरेपछि लेस्टरले सेभियामाथि २–० को नतिजा निकाल्दै समग्रमा ३–२ को जित हात पारेर च्याम्पियन्स लिगमा ऐतिहासिक यात्रा तय गरेको हो ।
स्पेनी भूमिमा भएको पहिलो लेगमा भने सेभियाले लेस्टरलाई २–१ ले हराएको थियो । सेभिया ला लिगाको उपाधि होडमा महारथीहरु रियल म्याड्रिड र बार्सिलोनालाई चुनौती दिइरहेको टिम हो । यो स्पेनी क्लब लगातार तीनपल्टको युरोपा लिग विजेता पनि हो ।
यता लेस्टर भने प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत छ । लेस्टर रेलिगेसन क्षेत्रभन्दा तीन अंकमात्र माथि छ । त्यसैले लेस्टरलाई सेभिया भारी पर्नसक्ने अनुमान गरिएको थियो । तर, लेस्टरले घरमा सनीसनीपूर्ण खेल प्रदर्शन गर्दै युरोपमा पनि आश्चार्यजनक यात्रालाई फेरि एक कदम अगाडि बढायो । चिलीलाई कोपा अमेरिका २०१५ मा च्याम्पियन बनाएका प्रशिक्षक जोर्गे साम्पाओलीले सम्हालेको सेभियाविरुद्ध लेस्टरको टिम स्पिरिट लोभलाग्दो रह्यो । उसले गएको सिजन प्रिमियर लिगमा गरेको प्रदर्शनकै लयलाई फेरि समातेको देखियो ।
सेभियाका प्लेमेकर समीर नाजरीले पाएको रातो कार्ड पनि लेस्टरको सफलतामा सहायक बन्यो । त्योभन्दा महत्वपूर्ण गोलकिपर कास्पर स्माइकलको प्रदर्शन रह्यो । उनले स्टेभेन एन्जोन्जीको पेनाल्टी रोकेका थिए । खेल सकिन १० मिनेटअघि भएको त्यो पेनाल्टीमा गोल भएको भए खेलको कथाले अर्कै रुप लिनसक्थ्यो । कास्परले पहिले लेगमा स्टेभान जोभेटिकको पेनाल्टी पनि असफल पारेका थिए । उनले यो सिजन च्याम्पियन्स लिगमा घरमा खेलेका तीनै खेलमा विपक्षीलाई गोलको अवसर दिएका छैनन् ।
जापानी फरवार्ड सिन्जी ओकाजाकीदेखि रोबर्ट हुथ, ड्रिंकवाटर, एन्डिडी, फुस, प्लेमेकर रियाद महारेजले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । गतवर्ष उत्कृष्ट प्रदर्शन गरेका एन्गोलो कान्टे चेल्सीतिर लागे पनि महारेजले ‘द फोक्सेस’को मिडफिल्ड सम्हाल्दै आकर्षक खेललाई निरन्तरता दिइरहेका छन् । उनले च्याम्पियन्स लिगका सात खेलमा चार गोल गरेका छन् भने दुई गोलमा फाइनल पास पनि दिएका छन् ।
पोर्टो, कोपेनहेगन र ब्रुग रहेको समूह ‘जी’मा पहिलो हुँदै लेस्टरले नकआउट चरणको यात्रा तय गरेको थियो । उसले सेभियासँगको दोस्रो लेगसहित घरेलु मैदानमा भएका चारै खेल जित्यो । त्यसमा उसको रक्षापंक्ति बलियो देखिएको छ, जसलाई किङ पावरमा खाएको एक गोलले पनि देखाउँछ ।
प्रिमियर लिग च्याम्पियन म्यानेजर क्लाउडियो रानेरीलाई सेभियासँग पहिलो लेगमा हारेको भोलिपल्टै (२३ फेब्रुअरी) लेस्टरले वर्खास्त गरेको थियो । त्यसयता उनका सहायक क्रेग शेक्सपियरले लेस्टर टिम सम्हालिरहेका छन् । उनले सम्हालेको टिमले प्रिमियर लिगमा लिभरपुल र हल सिटीमाथि समान ३–१ को जित हात पारेपछि सेभियालाई पराजित गरेको हो ।
युभेन्टसले मंगलबार नै पोर्टोमाथि दोस्रो लेग १–० ले आफ्नो पक्षमा पार्दै समग्रमा ३–० को जितसहित क्वाटरफाइनलमा स्थान पक्का गर्यो । दोस्रो लेगको नतिजासँगै इटालियन महारथीले घरेलु मैदानमा अपराजित खेललाई ४६ (४० जित, ६ बराबर) पुर्यायो । तर त्यसलाई लेस्टरको सफलताले छाँयामा पारिदियो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि एट्लेटिको म्याड्रिडले बायर लेभरकुजन र म्यानचेस्टर सिटीले मोनाकोसँग बुधबार राति खेल्दैछन् । लेस्टर र युभेन्टसअघि महारथीहरु बार्सिलोना, रियल म्याड्रिड, युभेन्टस, बायर्न म्युनिक, बोरुसिया डर्टमुन्डले अन्तिम आठको ‘ड्र’मा स्थान पक्का गरिसकेका छन् । अबको क्वाटरफाइनल ‘ड्र’ मा पनि सबभन्दा सानो अर्थात् नसोचिएको टिम लेस्टर नै हुने छ । किनभने उसले आश्चार्यजनक यात्रालाई कायमै राखेको छ ।