चैत्र २, २०७३- सन् २००७ मा फराह खान निर्देशित फिल्म ‘ओम शान्ति ओम’ प्रदर्शन भएपछि अभिनेत्री दीपिका पादुकोण सबैको नजरमा परिन् । उनको सौन्दर्य र अभिनयले धेरैलाई आकर्षित गर्यो । पहिलो फिल्म नै शाहरूख खानसँग गर्न पाएकाले उनलाई केहीले ‘लक्की हिरोइन’ समेत भने । तर, यो साँचो कुरा थिएन ।
दीपिकाले त्यसअघि नै कन्नड फिल्म ‘ऐश्वर्या’ मार्फत डेब्यु गरिसकेकी थिइन् । तसर्थ, ‘ओम शान्ति ओम’ उनको पहिलो फिल्म हुने कुरै भएन । दीपिकाबारे अन्य केही तथ्य पनि रोचक छन् । पहिलो कुरा, उनी भारतमा जन्मिएकी थिइनन् । डेनमार्कको कोपनहेगन उनको जन्मथलो हो । १९८५ जनवरी ५ मा जन्मिएकी उनी ११ महिनाकी छँदा अभिभावसँगै बेंगलुरु आइन् । सानैदेखि उनका साथीभाइ प्रशस्त हुने गर्थे ।
दीपिकाका बाबु ब्याडमिन्टन खेलाडी हुन् । बाबुकै पदचाप छोरीले पछ्याएकी थिइन् । राष्ट्रस्तरबाटै प्रतियोगितामा भाग लिएकी उनी बेसबल पनि राम्रो खेल्थिन् भन्ने कमैलाई थाहा होला । तर, मोडलिङ र अभिनयमा लागेपछि उनको खेल जीवन रोकियो ।
उनले सन् २००४ देखि फुलटाइम मोडलका रूपमा काम थालिन् । त्यो बेला उनले फेसन डिजाइनर एवं कोरियोग्राफर प्रसाद बिडापाको निर्देशनमा काम गरेकी थिइन् ।
हिमेश रेशमियाको गीत ‘नाम है तेरा…’ को भिडियोमा अभिनय गरेपछि दीपिका फराह खानको आँखामा परिन् । यसर्थ, उनलाई बलिउडमा ब्रेक दिने श्रेय हिमेशलाई दिने गरिएको छ । लिरिल साबुन (लिरिल अरेन्ज) को विज्ञापनमा देखिएकी उनलाई धेरैले बिर्सिए । तर, त्यही विज्ञापनपछि उनलाई किङफिसर क्यालेन्डरले कभर गर्लका रूपमा छाप्यो । उनले ‘मोडल अफ दी इयर’ को ट्रफी पाइन् । ‘ओम शान्ति ओम’ मा आउनुभन्दा अघि सञ्जयलीला भन्सालीले उनलाई ‘साँवरिया’ मा खेलाउन चाहेका थिए । तर, उनले अनिल कपुरकी छोरी सोनमलाई त्यसमा राखे । ‘चाँदनी चोक टु चाइना’ मा अभिनय गर्नुपर्ने भएपछि दीपिकाले जापानी कराते शैली, जुजुत्सु सिकेकी थिइन् । फिल्मका सबै स्टन्ट उनी आफैंले गरेकी थिइन् । त्यसमा अर्कैको स्टन्ट राखेर चिटिङ गरिएको थिएन ।
ब्वाइफ्रेन्ड रणवीर सिंहसँगको ‘राम–लीला’ बाट दीपिकाले असंख्य तारिफ बटुलिन् । तर, उनलाई पुष्पगुच्छासहित आएको एउटा हस्तलिखित पत्रले सबैभन्दा बढी प्रफुल्लित बनायो । त्यो उपहार उनलाई बलिउडका महानायक मानिएका अमिताभ बच्चनले पठाएका थिए । पछि, उनीहरू दुवै बाबा–छोरीका रूपमा ‘पिकु’ मा देखिए ।
बलिउडमा दीपिकाको निर्णय देखेर सबै चकित हुन्छन् । उनले सलमान खानको अपोजिट भएर काम गर्ने धेरौ अवसर लत्याइदिएकी थिइन् । ‘सुल्तान’ र ‘किक’ का लागि अनुष्का शर्मा र ज्याकलिन फर्नान्डेजभन्दा अगाडि उनैलाई प्रस्ताव राखिएको थियो । उनले ठाडै अस्वीकार गरिदिइन् । उनी अहिले रणवीरसँगको सम्बन्धमा छिन् । तर, त्यसअघि उनी मोडल निहार पाण्डेयसँग लिभ–इन रिलेसनसिपमा थिइन् ।
दीपिकाले अनुपम खेरसँग अभिनय सिकेकी हुन् । उनलाई नृत्य सिकाउने काम शामक डाभरले गरे । उनी अधिकांश कार्यक्रममा जारा ब्रान्डका पहिरन लगाउँछिन् । सामाजिक काममा उनको लगाव छँदै छ । महाराष्ट्रको अम्बेगाउँमा पानी र विद्युतीय सुविधा बढाउन उनी लागिपरेकी छन् ।