चैत्र २, २०७३- प्रमुख सत्तारूढ घटक कांग्रेसले स्थानीय तहको निर्वाचनअघि नै संविधान संशोधन विधेयक टुंगोमा पुर्याउनुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक दुई तिहाइ मत पुर्याउन अग्रसरता लिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा मंगलबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सम्मिलित बैठकले यस्तो निर्णय लिएको हो । बैठकले विधेयकको पक्षमा दुई तिहाइ मत पुर्याउन प्रमुख दलको हैसियतले अग्रसरता लिने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
विधेयक पारित नहुने अवस्थामा त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा पार्टीकै नेताहरूबाट आइरहेका बेला कांग्रेसको यस्तो निर्णय आएको हो । कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले संविधान संशोधन विधेयकलाई छाडेर निर्वाचनमा जान सम्भव नहुने निचोड बैठकले निकालेको जनाए ।
‘कांग्रेस समेत सम्मिलित सरकारको मुख्य एजेन्डा नै संविधान संशोधन र निर्वाचन गराउनु हो । यी दुई एजेन्डा कार्यान्वयनका लागि कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसहित सबै राजनीतिक दलसँग वार्ता गरी अनुकूल राजनीतिक वातावरण बनाउने दिशामा अग्रसरता लिन्छ,’ मन्सुरले भने, ‘संविधान संशोधन गरी निर्वाचनमा जानुपर्छ भन्ने कांग्रेसको औपचारिक निर्णय हो ।’
बैठकमा सहभागी कतिपय नेताहरूले विधेयक पास नहुने अवस्था भए मतदानमा जान नहुने सुझाव दिएका थिए । तर, पार्टीका मधेस केन्द्रित सबै केन्द्रीय सदस्यहरूले एकै स्वरमा तत्काल संविधान संशोधन विधेयकलाई निर्णयमा पुर्याउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिएका थिए । संविधान संशोधनबिना २ नम्बर प्रदेशमा निर्वाचन हुन नसक्ने र मधेसी मोर्चाले बहिष्कार गरेको निर्वाचनमा जाँदा त्यसले राष्ट्रका लागि झनै ठूलो नोक्सान पुग्ने उनीहरूको भनाइ थियो ।
‘विधेयकलाई थाती राखेर निर्वाचनमा जान हुन्न भन्ने सबैको धारणा आयो,’ कांग्रेस केन्द्रीय सदस्य किरण यादवले भनिन्, ‘सभापतिले पनि संविधान संशोधनलाई टुंगोमा पुर्याएर नै निर्वाचन गराउने अठोट व्यक्त गर्नुभएको छ ।’ बैठकमा राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधनको पक्षमा मत नहाल्ने भनी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे समेत छलफल भएको थियो । सार्वजनिक रूपमा थापाले त्यस्तो अभिव्यक्ति दिए पनि संविधान संशोधनका पक्षमा मत दिने उद्देश्यका साथ सरकारमा ल्याइएको सभापति देउवाले दाबी गरेका थिए । उनले केही दिनमै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) समेत सरकारमा आउने र अन्य साना दलसँग समेत छलफल गरी विधेयकको पक्षमा दुई तिहाइ पुर्याउन प्रयास गरिने जानकारी दिएका थिए ।
देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई समेत संविधान संशोधन टुंगोमा पुर्याएर मात्रै निर्वाचन हुनेमा आश्वस्त पार्दै आएका छन् । देउवाले आइतबार नै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग संविधान संशोधनलाई टुंगोमा पुर्याएर नै निर्वाचनमा जाने बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । तर, मोर्चाले संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तहको कायम गरिएको निर्णयसमेत संशोधन हुनुपर्ने अडान राखेका थिए । मोर्चाले जनसंख्याका आधारमा मधेसमा स्थानीय इकाईको संख्या कम भएको भन्दै संशोधनको माग राखेका हुन् । ठाकुरसँगको भेटमा देउवाले स्थानीय इकाईको संख्या बढाउन सकिने बताएका थिए । ‘
बैठकमा मधेसबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यले संविधान संशोधनबिना २ नम्बर प्रदेशमा निर्वाचन नहुने भन्दै तत्काल संविधान संशोधन विधेयकलाई अघि बढाउन पार्टी नेतृत्वलाई दबाब दिएका थिए । ‘विधेयक पारित गर्न राजनीतिक वातावरण बनाउने भूमिका कांग्रेसले खेल्छ,’ केन्द्रीय सदस्य मन्सुरले भने, ‘सरकारले लगेका सबै विधेयक संसद्बाट पारित हुँदैनन् । एक पटक फेल भए पनि अर्को पटक पास हुन्छ । विधेयक फेल हुन्छ भनेर संविधान संशोधन विधेयकलाई रोक्न हुन्न । अघि बढाउनुपर्छ ।’ विधेयक अघि बढाउँदा मधेसको भावना जित्न सकिने निष्कर्षमा कांग्रेस पुगेको हो ।
‘आजदेखि कांग्रेसले संविधान संशोधन विधेयकलाई थाती राखेर होइन, टुंगोमा पुर्याएर नै निर्वाचन गर्नुपर्छ भन्ने औपचारिक धारणा बनाएको छ,’ अर्की केन्द्रीय सदस्य यादवले भनिन्, ‘सकभर दुई तिहाइ मत पुर्याउन कोसिस गरौं, नभए पनि यसलाई थाती राखेर होइन, टुंगोमा पुर्याएर निर्वाचनमा जानुपर्छ भन्नेमा शीर्ष नेतृत्व पनि प्रतिबद्ध हुनुभएको छ ।’