फाल्गुन ३०, २०७३- एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार लमहीमा सभा भएको छ । सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जनताका घरघरमा पुग्ने एमालेको अधिकार भए पनि यसमा अवरोध भैरहेको गुनासो गरे । एमालेलाई शान्तिपूर्णरुपमा कार्यक्रम गर्ने काममा अवरोध भैरहेको उनले बताए । मधेशवादी दलका नाममा केही नेताहरुले मधेसी जनतामाथि नै अन्याय गरिरहेको उनले आरोप लगाए । ‘केही नेताहरुले मधेसका नाममा आतंक फैलाइरहेका छन् । यसले सबै मधेसी जनताको भावनाको प्रतिनिधित्व भएको छैन,’ उनले भने, ‘हामीले राष्ट्रिय सद्भाव फैलाउन मेचीकाली अभियान थालेका छौं । यसले संविधान कार्यान्वयन र राष्ट्रिय एकतामा बल मिल्ने छ । यसैगरी अर्का वरिष्ठ नेता झलनाथ खनालले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताए । संविधान कार्यान्वयन एमालेबाट मात्र सम्भव भएको दावी गर्दै खनालले मेचीमहाकाली अभियानले यसमा सघाउ पुर्याएको बताए । ‘संविधान कार्यान्वयन गर्ने काममा एमालेले नै अगुवाई गरिरहेको छ,’ उनले भने, ‘देशव्यापीरुपमा हामीले संविधानको अन्तर्वस्तुबारे चर्चा गरिरहेका छौं । राष्ट्रिय महत्वको विषयमा बहस चलाइरहेका छौं ।’
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले एमालेले लोकतन्त्रको न्यूनतम अधिकार पनि प्रयोग गर्न नपाएको बताए । सभा सम्मेलन गर्ने र जनताको बीचमा जाने काममा अवरोध सिर्जना गरेर लोकतन्त्रमाथि नै हमला भएको उनले बताए । एमाले नेता शंकर पोख्रेलले सबै जनताको भावना समेटेर एमाले अघि बढिरहेको बताए । एमाले समृद्धिको बाटोमा लागिरहेको र देशव्यापीरुपमा निर्वाचनको माहोल बनाइरहेको उनले बताए । यस्तै वैकल्पिक केन्द्रीय सदस्य एवं पूर्व सभासद् शान्ता चौधरीले एमालेले सबै वर्ग, जाती र समुदायको भावना समेटेर काम गरिरहेको बताइन् । वैकल्पिक केन्द्रीय सदस्य मेटमणी चौधरीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
सभामा २० हजार बढी कार्यकर्ता सहभागी भएको एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताए । सभामा दाङका साथै प्युठानका बिभिन्न गाउँहरुबाट गाडीमा कार्यकर्ताहरु आएका थिए । सभामा उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोख्रेल, उपमहासचिवहरु बिष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट, पूर्व मन्त्री लालबाबु पण्डित लगाएतका नेताहरु सहभागी रहेको थियो ।