images
images

सरकार अन्तकै प्रभु रिझाउन तल्लिन छ : ओली

फाल्गुन २९, २०७३- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बिगार्ने गरी गरिने कुनैपनि संशोधनलाई एमालेले नस्वीकार्ने बताएका छन् । एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनको प्रस्ताव पनि राष्ट्रको हितमा नभएकाले कुनैपनि हालतमा पास हुन नदिने बताए ।
सम्बोधनको क्रममा अध्यक्ष ओलीले मधेसी मोर्चाप्रति आक्रामक हुँदै संविधान बनाउने बेला सदन भित्र र बाहिर गरेर खुरुखुरु हस्ताक्षर गरेर भत्ता बुझ्ने र अन्य सबै सुबिधा लिने, समितिका सभापति बनेर सुविधा लिन नछाड्ने र संविधान जारी भएपछि मधेसीलाई विभेद गरियो भन्नु गैरजिम्मेवारीपन भएको आरोप लगाए ।

पछिल्लो पटक बिस्तार गरिएको मन्त्री मण्डलप्रति लक्षित गर्दै ओलीले चारतिर फर्केकालाई एकै ठाँउमा ल्याएर मीत लगाईदिने काम नेपालले नभएर अर्कैले गराइ दिएको दाबी गरे । अहिलेको सरकार अरुकै इशारा र प्रयासमा बनेको सरकार भएकाले नेपाली जनताभन्दा अन्यत्रकै प्रभु रिझाउन तयार रहेको आरोप उनको थियो । मधेसी मोर्चाका केही नेताले कराएको देख्ने र सुन्ने अहिलेको सरकारले लाखौं जनता उत्रेर प्रदेश टुक्राएर राष्ट्रिय एकतामा आँच आउन दिन हुँदैन भनि गरेको मागलाई नसुनेको आरोप ओलीले लगाए । पहाड र तराइको बीचमा झगडा गराउने, जातजातीको नाममा, आदीवासी र गैर आदीवासीको नाममा, दलित र गैर दलितको नाममा झगडा गराउने काम सरकारले गराइरहेको र आफू सरकारमा बसेर माओवादी र कांग्रेसले मोर्चालाई उचाल्दै देशलाई बर्वादि तर्फ लगिरहेको दाबी ओलीले गरे । एमालेका बरिष्ठ नेता बामदेव गौतमले कञ्चनपुर घटनामा मारिएका गोविन्द गौतमलाई शहीद घोषणा गरेर ९ तोपको सलामी दिएर सरकारले यस घटना विरुद्ध भारतसंग कुनै कुरा नगरी थामथुम पार्न खोजेको आरोप लगाए । यस घटनामा भारत सरकारले नेपाल सरकार समक्ष लिखित माफी मागेर पीडित परिवारलाई १ करोड रुपैयाँ क्षतीपूर्ति दिनुपर्ने भनाई उनको थियो । अर्का एमाले नेता रघुविर महासेठले संविधान संशोधनको प्रस्ताव मधेस र मधेसीको पक्षमा नभएको दावी गर्दै मधेसी मोर्चालाई ठग भएको आरोप लगाए ।