फाल्गुन २८, २०७३- विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीच आज शनिबार हुन लागेको खेल वर्षाले प्रभावित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर शुक्रबारदेखिकै वर्षाले प्रभावित रहेको छ । निर्धारित समयअनुसार खेल ९:३० बजे हुने कार्यक्रम थियो । तर, निरन्तर वर्षाका कारण विकेट कभरले पूर्णः रुपमा छोपिएर राखिएको छ ।
आउट फिल्ड पनि पूरै भिजेका कारण लञ्च अगाडि खेल हुने सम्भावना एकदमै न्यून देखिन्छ । म्याच रेफ्रीसहित अन्फिल्ड अम्पायरहरु नेपालका विनयकुमार झा र सिंगापुरका सारिकाप्रसाद तथा रिजर्भ अम्पायर दुर्गानाथ सुवेदी छाता ओढेर मैदान नियालिरहेका छन् । पानी परिरहे पनि दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । उनीहरु नेपाल, नेपाल भन्दै हुटिङ गरिरहेका छन् ।
राजधानीमा शुक्रबार बिहानदेखि वर्षा हुन सुरु भएको थियो । बिहानी वर्षा सामान्य थियो । जसले मैदानमा कुनै प्रभाव पारेन । नेपाली टोलीले शुक्रबार दिउँसो साढे १२ बजे आफ्नो अभ्यास सकायो । १ बजे केन्या मैदानमा आएसँगै जगिङ सुरु गरेको थियो । त्यसलगत्तै वर्षाले केन्याको अभ्यास बिथेलेको थियो । आधा घन्टाभन्दा बढी वर्षा भयो । त्यो रोकिएपछि केन्याले आफ्नो अभ्यास पूरा गरेको हो । ४ बजेदेखि पुन: वर्षा भयो । त्यो झन्डै १ घन्टासम्म चलेर रोकिएको थियो । साँझ फेरि असिनासहितको वर्षा भयो र रातमा त्यो क्रम जारी थियो ।
कान्तिपुर का अनुसार आइतबार रिजर्भ डे राखिएको छ । शनिबारको खेल पुरै नभएमा वा वर्षाले बीचमै रोकिएमा आइतबार खेलाइने छ ।