images
images

अनलाइन ट्रेडिङ गराउन धितोपत्र बोर्डको पहल, जहाँबाट पनि किनबेच आदेश दिन सकिने

७ फागुन, काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई ग्राहकको ‘नो योर कष्टमर’  (ग्राहक पहिचन) फारमको आधारमा इन्टरनेट मार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

लगानीकर्ता स्वयंमलाई एकाउन्टको युजर नेम र पासवर्ड दिएर यस्तो व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो । बोर्डले यसको लागि हाल प्रयोग भइरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा सुधार वा थप गरेर यस्तो सुविधा दिन भनेको हो ।

यो क्रममा ग्रँहकबाट आउने सेयर किनबेच आदेशलाई समय प्राथमिकताको आधारमा खरिद बिक्री प्रणालीमा प्रविष्टि गर्न व्यवस्था गर्न र यसरी हुने कारोबारको सुचना लगानीकर्ताहरुलाई दिन पनि निर्देशन दिएको छ । नेप्सेले पूर्ण स्वचालित प्रणाली अवलम्बन गर्ने प्रक्रिया अपनाइरहेकोले इन्टरनेट मार्फत् सेयर किनबेच गर्न सकिने सुविधा शुरु हुने भएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

इन्टरनेटबाटै कारोबार गर्ने प्रणाली अवलम्बन भएमा यसले काठमाडौं केन्द्रीत सेयर कारोबारलाई देशभर विस्तार गर्न सहयोग पुर्याउँनेछ । बिदेशबाट समेत कारोबार गर्न सकिने व्यवस्था पनि हुनेछ । यद्यपी देश बाहिरबाट हुने कारोबारको नियमनको लागि भने धितोपत्र बोर्डले केही व्यवस्था गर्न सक्छ ।