फाल्गुन १९, २०७३- जिल्ला प्रशासन मोरङले पेट्रोलियम पदार्थ सहज आपूर्तिका लागि नयाँ नियम लागू गरेको छ । प्रशासनले बुधबार पेट्रोलियम पदार्थ सहज आपूर्तिका लागि सरोकारवाला निकायसँग गरेको सर्वपक्षीय छलफलबाट उक्त निर्णय गरेको हो ।
केही समययता विराटनगरलगायत पूर्वाञ्चलमा इन्धन चरम अभाव देखाइएको छ । आयल निगमले आवश्यकताअनुसार इन्धन पठाए पनि अधिकांश पेट्रोल पम्पले बाँडेका छैनन् ।
जिल्ला प्रशासनले बुधबार गरेको पत्रकार सम्मेलनमा पेट्रोलियम पदार्थ सहज बनाउन लागू गरेको नयाँ नियमबारे जानकारी गराए । सहज आपूर्ति नहुञ्जेलसम्मका लागि बिहान ७ देखि बेलुका ८ बजेसम्ममात्रै वितरण गर्न पाउने व्यवस्था गरिएको छ ।
यस्तै, भारतीय ठूला सवारीलाई एक पटकमा ५० लिटर र सानालाई १० लिटरमात्रै दिने, ड्रम, ग्यालेनलगायतमा तेल दिँदा भ्याट बिल जारी गरेरमात्र उपलब्ध गराउने नियम लगाएको हो ।