फ्रान्सको पेरिस सेन्ट जर्मनी(पिएसजी) क्लबमाथि ६–१ गोलको रवाफिलो जित दर्ता गर्दै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान रचेको छ।पिएसजीसँग पहिलो लेगको खेलमा ४–० ले पछाडि परेको नतिजालाई उल्ट्याउदै बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा विहिबार बिहान सम्पन्न खेलमा ६–१ को रवाफिलो जित निकाल्यो। च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा ४–० ले पछाडि परेको अवस्थामा कुनै टोली क्वाटरफाइनलमा प्रवेश गर्न सकेको थिएनन्। तर, बार्सिलोना दुवै लेगबाट समग्रमा ६–५ को अग्रता बनाउदै क्वाटरफाइनलमा प्रवेश गर्यो।एक दिनअघि मात्र आफ्नो कट्टर प्रतिद्धन्दी रियल म्याड्रिड अन्तिम ८ मा प्रवेश गरेको अवस्थामा आजको जित प्रशिक्षक लुइस एनरिकका लागि सम्झनायोग्य रहयो। पहिलो लेगमा पिएसजीसँग ४ गोलले पछाडि परेपछि एनरिकको खेल शैलीको ठूलो आलोचना भएको थियो। त्यसैले उनले दुई साताअघि मात्र यो सिजनपछि बार्सिलोनामा नबस्ने घोषणा गरेका थिए। बार्सिलोनाका लागि आज नेइमार नायक बने। उनले लगभग हातबाट गुमिसकेको खेललाई ७ मिनेट भित्र पुनः बार्सिलोनाको पोल्टामा पारेका थिए।दोस्रो हाफको ६२ मिनेटमा एडिन्सन काभानीले पिएसजीका लागि गोल गरेपछि बार्सिलोना लगभग खेलबाट बाहिरिएको थियो। तर, ८८ मिनेटमा विश्वस्तरीय फ्रिकिक, ९१ मिनेटमा पेनाल्टीबाट गोल गरेका नेइमारले ९५ मिनेटमा फ्रिकिकमार्फत सर्गिइ रोबेर्टोलाई गोलका लागि अवसर जुर्याई दिए।
बार्सिलोनाको यो जितले सन् १९९९ च्याम्पियन्स लिगको म्यानचेस्टर युनाइटेड र वायर्न म्युनिखबीचको फाइनल खेललाई पनि बिर्साएको छ। पिएसजी पहिलो लेगको खेलमा बार्सिलोनालाई २ गोल गरेका अर्जेन्टिनी प्लेमेकर एन्जेल डि मारिया बिना मैदानमा उत्रिएको थियो । चोटग्रस्त मारिया आजको खेलमा प्लेइङ सेटमा थिएनन्।
नेइमारको फ्रिकिकलाई ‘अफ ट्रयाप’ मा पार्ने योजनामा रहेका पिएसजीका डिफेन्डर त्यतिबेला स्तब्ध भए, जब अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोबेर्टोले भ्रमणकारी टोलीको ‘अफ ट्रयाप’ तोड्दै गोल गरे। उनले १८ महिनापछि बार्सिलोनाका लागि गोल गर्ने क्रममा घरेलु दर्शकलाई अपार खुसी तुल्याए।