फाल्गुन २२, २०७३- डोल्पा तिन्चे–३ का दावा तेन्जन सात दिनसम्म हिँडेर बल्लबल्ल जाजरकोट र रुकुमको सीमा त्रिवेणी आइपुगे । उनलाई यहाँबाट मोटर चढेर जाजरकोटका बजार (अउल) सम्म पुग्नु छ । बोकेको जम्बु (जिम्मु) बजारमा बेच्नु छ । तर त्रिवेणीसम्म आइपुग्दै पैतालामा फोकैफोका भएका छन् । शरीर शिथिल भइसक्यो । उनलाई चिन्ता थपिएको छ, ‘जम्बु बेचेर कसरी तिन्चे फर्कने ?’ दाल झान्न उपयोगी हुने उच्च हिमाली भेगमा पाइने जडीबुटीको पात जम्बुका व्यापारी हुन् दावा ।
यातायात सुविधा नहुँदा डोल्पाका छार्का भोट, सिमेन भोट, धोलगायत दर्जनौं विकट बस्तीका बासिन्दाको जनजीवन कष्टकर छ । ‘न उत्पादन छ, न विकास,’ दावाले भने, ‘खाद्यान्नको जोहो गर्न ५ दिन पैदल हिँडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता अझै टरेको छैन ।’ सडक नहुदा छार्का, धो, तिन्जे, सिमेनलगायत विकट बस्तीमा बासिन्दाले निकै दु:ख पाएको बताए । यहाँका बासिन्दाहरू जिल्लामै गाडी चढ्नु कल्पनाबाहिरको ठान्छन् । ‘डोल्पालीले घर छेउबाट मोटर चढ्ने धोको पूरा हुन अझै दशकौं लाग्ला,’ नर्कु–३ का कृष्णबहादुर शाहीले भने, ‘चीनको सिमानामा रहेको धोदेखि जाजरकोटको सिमानामा पर्ने त्रिवेणी पुग्न ७ दिन पैदल हिँड्नुपर्ने बाध्यता कहिले हट्ला ?
यातायात नभएकाले छार्का भोटमा नुन र चामललगायत खाद्यान्न सुनजस्तै महँगो छ । दावाले भने, ‘घोडा खच्चड र मान्छेलाई बोकाएर लैजाँदा असाध्यै महँगो पर्छ ।’ यहाँ आयोडिनयुक्त नुन प्रतिकिलो १ सय ५० र मोटो चामल प्रतिकिलो ४ सय रुपैयाँसम्म पर्छ । त्यही पनि किनेर गुजारा चलाउन बाध्य भएको दावाले बताए । जाजरकोटको राडीबजार, तल्लुबजार, त्रिवेणीलगायत बजारबाट किनेको खाद्यान्न तिन्चे पुर्याउँदा ५ गुणा मूल्य बढ्ने नर्कु–३ का शाहीले बताए । उनका अनुसार त्रिवेणीदेखि धो र छार्का भोटसम्मको खाद्यान्न ढुवानी दर प्रतिकिलो २ सय रुपैयाँभन्दा बढी लाग्ने गरेको छ ।
सरकारले भेरी करिडोर सहायक राजमार्गको निर्माणलाई प्राथमिकता नदिँदा जाजरकोट र डोल्पाका विकट बस्तीका बासिन्दा यातायात पहुँचबाहिर रहन बाध्य भएका हुन् । सडक विभागले भारतको रुपैडियादेखि चीनको सिमानामा रहेको धो भोटसम्मको ४ सय किलोमिटर दूरीको उक्त सडकको बजेट विनियोजनमा प्राथमिकता दिएको छैन ।
यही कारण भेरी करिडोर निर्माण धिमा गतिमा छ । विभागले जाजरकोट–डोल्पा सडकको १ सय १८ किलोमिटर दूरीअन्तर्गतको ट्रयाक खोल्न नेपाली सेनामार्फत १७ करोड र जाजरकोट सदरमुकाम खलंगादेखि स्तरोन्नति गर्न चौरजहारी सडक डिभिजनमार्फत १३ करोड रुपैयाँ मात्र बजेट निकासा गरेको छ । यति लामो दूरीको चट्टानै चट्टानको सडकको ट्रयाक खोल्न, दर्जनौं पुल निर्माण र सडकको स्तरोन्नति गर्न न्यून बजेट विनियोजन भएको डिभिजन प्रमुख आशिष थापा मगरले बताए ।
सडक सञ्जालले सदरमुकाम दुनैलाई जोड्न नेपाली सेनाको सडक निर्माण कार्यदलले जाजरकोट–डोल्पा सडकको ट्रयाक खोल्ने काम तीव्र पारेको छ । सडकको जाजरकोट खण्डको ४७ किलोमिटर र रुकुम खण्डको ३० किलोमिटरको काम पूरा भएपछि डोल्पा सिमानाको त्रिवेणीसम्म हलुका यातायातका साधन सञ्चालनमा आएको प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । उनका अनुसार डोल्पा खण्डको ४० किलोमिटर ट्रयाक खोल्ने काम पनि पूरा भएको छ ।
त्रिवेणीदेखि खदाङसम्मको १० किलोमिटर दूरीमा कडा चट्टान भएका कुचीभीर, सिरबिन्डे, फूलपानी, सिउडिनी लगायतमा निर्माण बाँकी रहेको उनले बताए । पर्याप्त बजेट व्यवस्था भए आगामी वर्ष डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिने उनको भनाइ छ । ‘कडा चट्टान भएकाले सडक निर्माणमा चुनौतीका साथै जोखिम पनि छ,’ पहाडीले भने ।
कान्तिपुर दैनिक का अनुसार सेना ले जाजरकोट, रुकुम र डोल्पाका ६ स्थानमा सुरक्षा बेसक्याम्प राखेर निर्माण अगाडि बढाएको छ । त्रिवेणी, करपगाड र खदाङमा निर्माणको काम भइरहेको उनले बताए । सडक निर्माणका लागि ७ सय मजदुर खटिएका छन् । जाजरकोट–रुकुम खण्डमा सडक निर्माण पूरा भई त्रिवेणीसम्म यातायात सञ्चालन भएपछि डोल्पाका सर्मी, नर्कु, कालिकालगायत गाउँका बासिन्दालाई सहज भएको छ ।