फाल्गुन २२ , २०७३- भक्तपुर क्यान्सर अस्पतालले बिरामी तथा सहयोगीहरुको सुविधाका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । अस्पतालमा नियमित चेकअपका लागि आउने क्यान्सर बिरामीलाई आवतजावतमा सहज बनाउन शनिबारदेखि नि:शुल्क बस सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले बिहान साढे ५ देखि साँझ साढे ८ बजेसम्म दुइटा बसबाट बिरामी ल्याउने–लाने व्यवस्था गर्दै बस सेवा सञ्चालन गरिएको प्रशासन प्रमुख राजाराम तजलेले बताए ।
अस्पतालले उपचारत बिरामी तथा कुरुवाका लागि सेवा दिइने जनाएको छ । अस्पतालबाट दैनिक चार ट्रिप बस छुट्ने प्रशासनले जनाएको छ । भक्तपुर क्यान्सर अस्पताल दुधपाटीबाट बिहान साढे ५ बजे पहिलो ट्रिप बिहान ७:२५ बजे बिरामी लिएर अस्पताल आइपुग्ने जनाएको छ । दोस्रो ट्रिप ११:३० बजे छुटेर १२:३० बजे आउने, तेस्रो ट्रिप १:३० बजे छुटेर २:३० बजे आउने र चौथो ट्रिप साँझ ६:३० बजे छुटेर ८:३० बजे फर्कने गरी बस सेवा सञ्चालन गरिएको उनले बताए ।
भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरव मन्दिर अगाडिबाट फर्केर पुन: बिरामी तथा सहयोगी बोक्दै भक्तपुर फर्कनेछ ।
बिहान ७ :३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुन: टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चावहिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामंगल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हुँदै बिहान ९:३० बजे अस्पताल आइपुग्ने गरी बस सञ्चालन गरेको छ ।
भारतीय दुतावासको सहयोगमा एक र अस्पतालले गरी दुइटा बस सञ्चालन गरिएको छ । आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।
पहिलो रुट नं ‘ए’ को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट आवातजावत गर्ने र रुट नं ‘बी’ को बस भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरेको तजलेले बताए । उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक बसमा चढ्न समस्या परेको र बिरामीलाई सहज रूपमा आवतजावत गराउन बस सेवा सञ्चालन गरिएको जनाएको छ ।
अस्पतालले सञ्चालन गरेको बस चढ्न बिरामी तथा कुरुवाले अनिवार्य रुपमा अस्पतालमा जाँचेको कार्ड साथमा लिएर आउनुपर्ने आज को कान्तिपुर दैनिक ले जनाएको छ ।