images
images

मेसीमाथि लगाइएको प्रतिबन्धको विरोध

२०७३ चैत्र १८ – बोलिभियाविरुद्घको खेलमा अर्जेन्टिना आफ्ना स्टार खेलाडी लियोनल मेसी बिना नै मैदानमा ओर्लिएको थियो । विश्वकप छनोटकै चिलीविरुद्घको अघिल्लो खेलमा सहायक रेफ्रीलाई दुव्र्यवहार गरेको आरोपमा मेसीमाथि चार खेलको प्रतिबन्ध लगाइएको छ । घरेलु मैदानमा खेलिएको चिलीविरुद्घको खेलमा अर्जेन्टिना १-० गोलले विजयी भएको थियो । उक्त खेलमा एकमात्र गोल मेसीले नै पेनाल्टीमार्फत गरेका थिए ।

बोलिभियाविरुद्घको खेल सुरु हुनुभन्दा केही समयअघि मात्र मेसीमाथि प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको थियो । उनले विश्वकप छनोटका थप तीन खेल खेल्न पाउने छैनन् । पाँचपटकका फिफा वर्ष खेलाडी मेसीले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्घ पुनरावेदन भने गर्न पाउने छन् । अर्जेन्टिनाको फुटबल संघले आफ्ना प्रभावशाली खेलाडीमाथि चार खेलको प्रतिबन्ध लगाउने निर्णय दुःखद भएको बताएको छ ।

संघले टोलीका कप्तान मेसीमाथि प्रतिबन्ध लगाउने विश्व फुटबल महासंघ (फिफा) को निर्णयविरुद्घ पुनरावेदन गर्ने पनि जनाएको छ । ‘हाम्रा लागि यो निकै दुःखद क्षण हो, हामी प्रतिबन्धकोविरुद्घमा पुनरावेदन गर्नेछौं’, अर्जेन्टिनी फुटबल टोलीका निर्देशक जोर्गे मिडोसक्वीले भने । सन् १९७८ र सन् १९८६ को विश्वकप विजेता टोली अर्जेन्टिना यतिबेला सन् २०१८ को विश्वकपमा छनोट हुने वा नहुने अन्योलमा छ ।

सहायक रेफ्रीसँग विवाद गरेको आरोपमा फिफाले मेसीलाई चार खेलको प्रतिबन्धसँगै १० हजार एक सय ६० अमेरिकी डलर जरिवाना पनि तिराउन निर्णय गरेको छ । सहायक रेफ्रीसँगको विवादका कारण मेसीले खेल सकिएपछि उनीहरुसँग हात मिलाउन पनि अस्वीकार गरेका थिए । यसैबीच, मेसीले ब्यवसायिक फुटबल खेल्ने स्पेनिस क्लब बार्सिलोनाले पनि मेसीमाथि लगाइएको चार खेलको प्रतिबन्ध गलत भएको बताएको छ ।