फाल्गुन २२ , २०७३- अर्जेन्टिनाका करिब २ सय क्लब आवद्ध खेलाडीहरुको आन्दोलनको कारण शुक्रबारदेखि सुरु हुने दुई घरेलु क्लब प्रतियोगिताका दुई मुख्य खेल सारिएको छ । अधिकांश क्लबले आर्थिक संकट व्यहोरिरहेका कारण खेलाडीहरुलाई केही महिनायता तलब दिन सकेको छैनन् । खेलाडी आवद्ध यूनियनले खेलाडीले पाउनुपर्ने तलब नपाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
खेलाडीको आन्दोलनको कारण रोसारियो सेन्ट्रलविरुद्ध गोडे क्रुज र सान लोरेन्जोविरुद्ध बेल्ग्रानोबीचको खेल सारिएको हो । टेलिभिजन अधिकारको बिषयलाई लिएर अर्जेन्टिनी फुटबल एसोसिएसनका उच्च अधिकारी विवादमा परेपछि समस्या सुरु भएको हो । विवादकै कारण एक महिना अघि सुरु हुनुपर्ने प्रतियोगिता अहिलेसम्म सुरु भएको छैन् ।
खेलाडीको आन्दोलन रोक्न सरकारले बिहीबार फुटबल एसोसिएसनलाई २२ मिलियन डलर रकम सहयोग गर्ने निर्णय गरेको थियो । टेलिभिजन प्रशारण अधिकारबाट एसोसिएसनले पाउने रकमको क्षतिपूर्तिस्वरुप सरकारले उक्त रकम दिएको हो । तर, खेलाडीहरुको यूनियनले उक्त रकम अपूग हुने भन्दै आन्दोलन जारी राखेको हो ।
बि बि सी का अनुसार खेलाडीहरुले अधिकांश क्लब प्रमुखहरुले उक्त रकमभन्दा धेरै ऋण लिइसकेको दाबी गरेका छन् । सन् २०१४ मा एसोसिएसनका अध्यक्ष जुलियो ग्रोन्डोनाको मृत्यु भएदेखि क्लबहरु आर्थिक संकटमा छन् । उनी फिफाका तत्कालीन उपाध्यक्षसमेत थिए ।
फिफामा भएको भ्रष्टाचार काण्डबारे अनुसन्धान अधिकारीहरुले ग्रोन्डोनालाई एक नम्बरका षड्यन्त्रकारीको संज्ञा दिएका छन् । तर, विश्लेषकहरुका अनुसार उनले अर्जेन्टिनी फुटबललाई गति दिएका थिए ।