images
images

अस्ट्रेलियाको क्‍विन्सल्यान्डमा भीषण बाढी, सयौं घरमा क्षति

नेपाली सुरक्षित रहेको दूतावासको भनाइ

२०७३ चैत्र १७ – विगत तीन दिनदेखि लगातार आइरहेको भीषण आँधी र बाढीका कारण अस्ट्रेलियाको क्युन्सल्याण्ड राज्यको जनजीवन प्रभावित बनेको छ । सयौं घरहरु नष्ट भएका छन् भने सुरक्षाका लागि सयौं विद्यालयहरु अहिले पनि बन्द गरिएको छ । सो क्षेत्रमा बसोबास गर्ने नेपाली सुरक्षित रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

‘साइक्लोन डेब्बी’ नाम दिइएको उक्त आँधी प्रभावित क्षेत्रमा पाँच सय बढी नेपालीहरु बसोबास गर्ने क्युन्सल्याण्डका एनआरएन संयोजक अभिमानसिंह बस्नेतले बताए । बस्नेतका अनुसार अधिकांश नेपालीहरु पनि आँधीबाट बच्नका लागि अस्थायी रुपमा निर्माण गरिएको सेल्टरमा बसोबास गरेको र अहिलेसम्म कुनै नेपालीलाई क्षति पुगेको खबर नआएको कान्तिपुरलाई बताए । उनले स्थानीय नेपालीहरुसँग सम्पर्कमा रहेको र आवश्यकताअनुसार एनआरएन सहयोग उपलब्ध गराउन तयार रहेको समेत जानकारी दिए ।

क्यानबेरामा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले पनि अहिलेसम्म दूतावासमा कुनै पनि नेपालीलाई क्षति पुगेको जानकारी नपाएको सुनाए । तर, पनि क्षतिका परेका नेपालीका बारेमा स्थानीय सरकारी निकायहरुसँग समन्वय गरेर जानकारी लिने कोसिस भइरहेको बताए ।

उक्त राज्यको उत्तर-पूर्वी तटीय क्षेत्रमा रहेका मकाय, रकहयाम्पटन लगायतका करिब आधा दर्जन सहरहरुमा धेरै क्षति पुगेको जनाइएको छ । सम्बन्धित निकायले दक्षिण क्षेत्रमा बाढी आउने चेतावनी जारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि हजारौं घरहरुमा विद्युत् अवरुद्ध रहेको छ । अस्ट्रेलियाली सरकारले आँधी र बाढीका कारण समस्यामा परेका सर्वसाधारणको उद्धार कार्यलाई तीव्रता दिइरहेको जनाएको छ ।