२०७३ चैत्र १७ – कप्तान ज्ञानेन्द्र मल्लसहित दीपेन्द्रसिंह ऐरी र शरष भेषवाकरले अर्धशतक पूरा गरेपछि एसीसी इमर्जिङ टिम्स कपमा नेपाल हङकङविरुद्ध ७ विकेटले विजयी भएको छ । सुरुवाती व्याटिङ गरेको हङकङले नेपाललाई २ सय १५ रनको लक्ष्य दिएको थियो ।
नेपालको लागि कप्तान मल्लले सर्वाधिक ७० रन बनाए । उनले ८२ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए । उनी हङकङका सुवरमन्यनको बलमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रनको योगदान दिए । उनले ८३ बल खेल्दा ५ चौका र एक छक्का प्रहार गरे । शरद् भेषवकरको नाममा नटआउट ५५ रन रह्यो ।
नेपालको लागि दीपेन्द्रसिंह ऐरी र भेषावकरले चौथो विकेटको लागि नटआउट एकसय ५ रनको पार्टनरसिप खेले । दुई व्याट्सम्यानको साझेदारी जमेपछि ३४ बल र ७ विकेट बाँकी रहँदै नेपालले विजय लक्ष्य भेट्टायो ।
बलिङतर्फ अनिल कर्णले ३, ज्ञानेन्द्र मल्लले २, भुवन कार्की र सुसन भारीले २–२ विकेट लिए । नेपालले यसअघि खेलेको दुई खेलमा हार व्यहोरेको छ । नेपाल आयोजक बंगलादेश र पाकिस्तानसँग हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपालले अन्तिम खेलमा जीत हात पार्दै २ अंक बटुल्न सक्यो । हङकङ अंकबिहीन छ ।