images
images

आर्मीलाई हराउदै मनाङले उचाल्यो राजर्षि जनक कप

 २०७३ चैत्र १७ – ए डिभिजन टिम मनाङ मस्याङ्दी क्लबले बुधबार कर्मैयामा भएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मनाङले फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै ४ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।

शीर्ष दुई टिमको प्रतिस्पर्धामा मध्यान्तरसम्म कुनै गोल भएन । आर्मी र मनाङका खेलाडीले सुरुदेखि नै गोल हान्ने असफल प्रयास जारी राखेका थिए । आर्मीमा स्टा्रइकर जर्ज प्रिन्स कार्कीले तेस्रो मिनेटमै हानेको बल पोलमा लागेर स्कोर भएन । लगत्तै मनाङका स्टा्रइकर विमल रानाको प्रहारले पनि लक्ष्य भेटाउन सकेन । प्रिन्सले अघिल्ला दुई खेलमा तीन गोल गरेका थिए । विमलले पनि दुई खेलमा २ गोल गरेका थिए ।

दुवै टिमले आधा दर्जन पटक प्रयास गरे पनि सफल नभई मध्यान्तर भयो । मध्यान्तरपछि दुवै टिम आक्रामक रूपमा प्रस्तुत भए । दुवैको पक्षमा त्यत्तिकै दर्शक हुटिङ थिए । फाइनल हेर्न दर्शकको घुइँचो थियो ।

छिमेकी जिल्लाबाट पनि दर्शक ओइरिएका थिए । दोस्रो हाफको छैटौं मिनेटमा आर्मीको लापरवाहीलाई सदुपयोग गर्दै विमल रानाले सजिलै गोल गरे । गोल पोस्ट नजिक पुगेको बल रक्षापंक्तिका खेलाडीले गोलकिपरलाई पास दिन खोज्दा विमल चलाखीपूर्वक बल पछ्याउँदै पोस्टतर्फ हाने ।

एक गोल खाएपछि बराबरीमा पुग्न आर्मीले निकै आक्रामक प्रदर्शन गरेको हो । मनाङमाथि निरन्तर दबाब राख्ने क्रममा आर्मीको फाउल खेल्यो । आर्मीका सुमन अर्याल र विवेक बस्नेतले पहेँलो कार्ड पाए । विवेकले दोस्रो पहेँलोसँगै रातो कार्ड खाएर बाहिरिए । अन्तिमतिर मनाङले डिफेन्समा बढी जोड दियो । आर्मीका खेलाडीको प्रयास सफल हुन सकेन । उपविजेता हुँदै आर्मीले २ लाख रुपैयाँमै चित्त बुझायो । उत्कृष्ट स्ट्राइकरको पुरस्कार विमल रानाले जिते । ३–३ गोल गरेका विमल र जर्ज प्रिन्स कार्कीले सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त पाए । म्यान अफ द म्याच आर्मीका दीपक गुरुङ भए ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले पवित्र नाम राखिएको राजर्षि जनक कप २ नम्बर प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता भएको वताए । ‘सुन्दर नगरीमा पवित्र नाममा स्थापित प्रतियोगितलाई परिषद्ले पनि सहयोग गर्छ,’ उनले घोषणा गरिहाले, ‘अर्काे वर्षदेखि यो प्रतियोगितालाई ५ लाख रुपैयाँ व्यवस्था गर्छु ।’

वागमती युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ए डिभिजनका सहित ८ टिम सहभागी थिए ।