फाल्गुन २१, २०७३- सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्षी एमालेसँग फेरि वार्ता गर्ने निर्णय गरेको छ । शनिबार राति अबेरसम्म बसेको पार्टी हेडक्वार्टर बैठकले एमालेसहित सत्ता घटक राप्रपा र अन्य केही दलसँग गम्भीर छलफल चलाउने निधो गरेको हो ।
बैठक स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एमाले र राप्रपालाई चुनावको निर्बाध वातावरण बनाउने बाटो खुलाउन संशोधनमा लचिलो बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । बैठकले संशोधन विधेयकमाथिको आफ्नो निर्णय पुनर्विचार गर्न एमालेलाई आहवानसमेत गरेको छ ।
‘संशोधनको विषयलाई लिएर एमालेले अलिकति चर्कै अडान लियो, यथार्थबोध गर्नेभन्दा पनि अतिरञ्जित कुरा बढी आए,’ दाहालले चुनाव घोषणापछिका दुई साताबारे बैठकमा समीक्षा राख्दै भने, ‘सोह्रबुँदे सहमतिकै स्पिरिटमा यो संशोधन प्रस्ताव पारित गराउने दायित्व एमालेको पनि हो । एकपल्ट फेरि गम्भीर ढंगले कुराकानी गर्न आवश्यक छ ।’
उनले चुनाव घोषणापछि एमाले केही नरम रूपमा पेस हुने संकेतहरू आफूले पाएको पनि बैठकमा सुनाएका थिए ।
बैठकपछि नेता नारायणकाजी श्रेष्ठले एमाले, राप्रपालाई संशोधन विधेयक पारित गराउनका लागि मनाउने निर्णय भएको जानकारी दिए । ‘उहाँहरू संशोधनको मामिलामा अलिकति बढी कडा भइदिनुभयो, विधेयक अनुमोदन गराउन आग्रह गर्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘विधेयक पारित गरेपछि निर्वाचनको वातावरण अझै खुला बन्छ भन्ने हाम्रो ठहर रह्यो ।’
बैठकले वैशाख ३१ गतेका लागि निर्वाचन मिति तोकेकामा सरकारको सराहना गरेको छ । स्थानीय तह पुन:संरचना आयोगले सरकारलाई सिफारिस गरेको प्रतिवेदन परिमार्जित सुझावसहित तुरुन्त ग्रहण गर्ने, त्यसैका आधारमा ७ सय ४४ स्थानीय तहमा नबढ्ने गरी पुनरावलोकन गर्न निर्वाचन आयोगलाई पत्र लेख्न सरकारलाई आग्रह गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।
थपिएका स्थानीय तह तराई मधेसबाट पर्ने गरी सिफारिस गर्न बैठकले सरकारलाई आग्रह गरेको छ । बैठकले स्थानीय चुनावमा सक्रियतापूर्वक सहभागी हुन सर्वसाधारणलाई आहवानसमेत गरेको छ ।
माओवादी केन्द्र बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष दाहाल, नेता श्रेष्ठसहित रामबहादुर थापालगायत नेता सहभागी थिए । बैठक सोमबार पनि बस्ने प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । कान्तिपुर दैनिक का अनुसार पार्टी हेडक्वार्टरले सोमबारको बैठकमा चुनाव केन्द्रित कार्ययोजना ल्याउने तयारी गर्नेछ ।