
२०७३ चैत्र १६ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको चुनाव चिह्नमा निर्वाचन लड्न नपाए निर्वाचन हुनै नदिने बताएका छन् । पार्टी अन्तरिम केन्द्रीय परिषद्को बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले स्वतन्त्र हैसियतमा निर्वाचन नलड्ने बताए । ‘हामी सर्प, भ्यागुतो, बिच्छीजस्ता चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिँदैनौँ । हाम्रो चुनाव चिह्न आँखा हो, अन्य चिह्न लिएर निर्वाचनमा जाँदैनौँ,’ भट्टराईले बैठकमा भने, ‘त्यस्तो निर्वाचन हँुदा पनि हुँदैन, हुन खोज्यो भने पनि हुन दिँदैनौँ ।’
भट्टराईले बैठकमा चुनावी रणनीति समेटिएको कार्ययोजना प्रस्तुत गर्दै पार्टीको अवस्था, निर्वाचनका संगठन विस्तारका आधारलगायतका विषयमा केन्द्रित रहेर कार्ययोजना प्रस्तुत गरेका थिए । मंगलबारको बैठकमा नेता देवेन्द्र पौडेलले सांगठनिक प्रगति विवरण, रामचन्द्र झाले वार्ता, संवाद र धु्रवीकरणसम्बन्धी प्रगति विवरण र परशुराम खापुङले अनुशासन आयोगसम्बन्धी रिपोर्ट पेस गरेका थिए ।
तीन दलको सिन्डिकेट लगाउने र घुमाउरो गरी अन्य दललाई प्रतिबन्ध लगाउने गरी निर्वाचन कानुन आएको छ । यसलाई मान्न सकिन्न । आयोगले दल दर्ता गर्न भन्ने, चुनाव चिह्न पनि दिने, तर निर्वाचन लड्ने वेलामा दलले प्राप्त गरेको चुनाव चिह्न नदिने भन्नु अर्र्काे ढंगको पञ्चायतको कुरा हो । निर्वाचन लड्न चुनाव चिह्न दलकै प्राप्त हुन संसद्मा उपस्थित भएकै हुनुपर्ने भन्ने कुरा आएको छ । यसलाई मानिन्न ।
नयाँ शक्तिले स्थानीय निर्वाचनमा देशैभरका स्थानीय तहलाई तीन तहमा वर्गीकरण गरी निर्वाचनसम्बन्धी योजना बनाउने तयारी गरेको छ । संयोजक डा. भट्टराईले बलियो स्थानमा एक्लै निर्वाचन लड्ने, चुनावी तालमेल गरेर जित्न सकिने स्थानमा तालमेल गर्ने र कमजोर स्थानमा संगठनको आधार विस्तार गर्ने गरी चुनावी रणनीति बनाउने प्रस्ताव आफ्नो कार्ययोजनामा बनाएका छन् ।
देशभर निर्वाचन जित्न सकिने स्थानको पहिचान तत्कालै गर्ने र त्यहाँ सोहीअनुसारको कार्ययोजना बनाउनुपर्ने भट्टराईको योजनामा उल्लेख छ । कतिपय स्थानमा चुनावी सहकार्य गरेर जित्न सकिने अवस्था देखिएमा कुन पक्षसँग कसरी तालमेल गर्ने भन्ने मोडालिटी बनाउने र असाध्य कमजोर रहेका स्थानमा भने निर्वाचनलाई माध्यम बनाएर संगठनको आधार विस्तार गर्ने योजना भट्टराईले बनाएका छन् ।