images
images

डोटीमा सिस्नो र सालको पातबाट राम्रो आम्दानी

२०७३ चैत्र १६ – डोटी जिल्लाको जोरायल गाउँपालिका, घन्टेश्वर (साविकको घन्टेश्वर गाविस) की इन्द्रा ओली अचेल निकै खुसी छन् । दुई वर्ष पहिलेसम्म बारीमा सिस्नो उम्रँदा लौराले चुटेर फाल्ने इन्द्रा अहिले त्यही सिस्नोको संरक्षणमा जुटेकी छन् । समुदायमा सिस्नुलाई गरिवले खाने वस्तु हो भनेर हेला गरिन्थ्यो।

घरेलु तथा साना उद्योग विकास समिति तथा विभिन्न संस्थाले समुदायलाई सिस्नुको महत्वव बुझाएपछि सिस्नो संरक्षणमा जुटेको इन्द्राको भनाइ छ । छुँदा पनि पोल्ने सिस्नो उपयोगी होला भन्ने कल्पनासमेत नगरेकी इन्द्राले प्रतिकिलो आलो सिस्नो ४० रुपैयाँमा बेच्न थालेकी छन् । घन्टेश्वरकी इन्द्रा सिस्नोको उपयोगिता देखेर दंग परेजस्तै केआईसिंह गाउँपालिका- ५, रानागाउँ (साविकको रानागाउँ गाविस-९) की भागा नेपाली सालको पातको उपयोगिता देखेर मख्ख छन् ।

सालको पात प्रांगारिक मल बनाउन मात्र उपयोग हुन्छ ठानेकी भागाले सालको पात बिक्री हुन थालेपछि पातको थप उपयोगिताबारे जानकारी पाएकी छन् । भागा वस्तुभाउ चराउन जंगलमा जाँदा सालको पात संकलनमा लागिरहन्छिन् । उनी भन्छिन्, ‘जंगलमा गोरु चराउन जाँदा सालको पात टिपेर आम्दानी पनि गरिरहेकी छु । दिनमा १०÷१५ किलो पात संकलन गर्न सकिन्छ प्रतिकिलो १५ रुपैयाँमा बिक्री हुन्छ ।’ यी उद्योगबाट विशेषगरी महिला लाभान्वित भएको र जीवन स्थरमा समेत परिवर्तन आएको पाइन्छ ।

इन्द्रा र भागा मात्रै होइन नयाँ प्रविधि प्रयोग गरेर स्थानीय स्रोतसाधनबाटै राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरू जस्तै धेरै महिला खुसी भएका छन् । डोटी जिल्लामै पहिलोपटक साविकका दुई गाविसमा सिस्नो प्रशोधन र तीन गाविसमा दुनाटपरी उद्योग सुरु भएका छन् ।

साविकका रानागाउँ, बर्छैन र छतिवन गाविसमा दुनाटपरी उद्योग, तथा साविककै सरस्वतीनगर र घन्टेश्वर गाविसमा सिस्नो प्रशोधन उद्योग सञ्चालनमा छन् । अहिले सिस्नो प्रशोधन गरेर बनाइएको पाउडर प्रतिकेजी पाँच सयमा बिक्री हुन्छ । नमुना सिस्नो प्रशोधन उद्योगकी सञ्चालक जमुना बोहरा भन्छिन्, ‘कामको सुरुवात राम्रै भएको छ, माग बढिरहेको छ तर यसलाई निरन्तरता दिन सक्नु र दिगोपन राख्न सक्नु हाम्रा लागि चुनौतीछ ।’

जोरायल गाउँपालिका वडा नं. १ घन्टेश्वर र वडा नं. ३ सरस्वतीनगरमा सञ्चालनमा रहेका सिस्नो प्रशोधन उद्योगमा सिस्नो पाउडरको माग बढेपछि आइडिया स्टुडियोको सहयोगमा शंकर थापाले सिस्नो उत्पादन तथा बजारीकरण गरिरहेका छन् । ‘प्याकिङ, लेबलिङ तथा बजारीकरण गरिरहेका छौं’, थापाले भने, ‘बजारमा माग बढिरहेको छ, अझै मागअनुसारको पूर्ति गर्न सकिएको छैन ।’  दुई वर्ष पहिलेसम्म बारीमा सिस्नो उम्रँदा लौराले चुटेर फाल्ने इन्द्रा अहिले त्यही सिस्नोको संरक्षणमा जुटेकी छन् ।