२०७३ चैत्र १६ – बक्सिङ खेलाडी सुशील थापाले नागरिकता पाउन नसकेको विषयमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चासो व्यक्त गरेका छन् । मंगलबार अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा ‘अनागरिक नेपाली हिरो’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपप्रधान एवम् गृहमन्त्री निधिले त्यसप्रति चासो देखाएका हुन्।
लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका राष्ट्रिय खेलाडीले नागरिकता पाउन नसक्दा गृहमन्त्री निधिले आश्चर्य व्यक्त गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए । ‘राष्ट्रिय खेलाडीले नागरिकता पाउन नसकेको विषयमा गृहमन्त्रीज्यूले आश्चर्य व्यक्त गर्नुभयो । यस विषयमा बुधबार सुशीलसँग छलफल गरेर निष्कर्ष निकाल्ने कुरा भएको छ’, उपप्रधान एवं गृहमन्त्रीका प्रेस सल्लाहकार दाहालले भने ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रबाट सहभागी हुँदै स्वर्ण पदक जितेका सुशीलले गृह मन्त्रालयबाट मंगलबार फोन गरेर नागरिकता नपाएको विषयमा आफूसँग सोधपुछ गरेको र बुधबार मन्त्रालयमा सम्पर्क गर्न भनिएको बताए । ‘गृह मन्त्रालयबाट मंगलबार फोन आएको थियो, बुधबार मन्त्रालयमा सम्पर्क गर्न भन्नुभएको छ’, थापाले भने ।
लामो समयदेखि राजधानीको नक्सालमा बसोबास गर्दै आएका राष्ट्रिय बक्सिङ खेलाडी सुशीलले बुवाआमाको नागरिकता नहुँदा आफूले पनि नागरिकता पाउन सकेका छैनन् । नागरिकताका लागि विभिन्न निकायमा पटकपटक धाउँदा पनि उनले आश्वासन मात्रै पाउँदै आएको उनले बताएका थिए । सानै उमेरमा काठमाडौं छिरेका आमाबुवाको जन्मस्थानको यकिन हुन नसक्दा बुवा शिव र आमा शान्तिले नागरिकता पाउन सकेका थिएनन् । बुवाआमाकै नागरिकता नभएपछि सुशील र उनका भाइले पनि नागरिकता पाउन सकेका छैनन् ।