गाँजा र चरेश सहित चार जना पक्राउ
२०७३ चैत्र १५ – पाँच सय ४६ किलो अवैध लागूऔषध गाँजा र ४५ किलो चरेससहित मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार राती करिब सवा २ बजे मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी जङ्गलमा दोहोरो भिडन्तपश्चात प्रहरीले लागूऔषध सहित चार जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताए ।
पहाडी क्षेत्रबाट ठूलो परिमाणमा गाँजा,चरेश ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्र बहादुर घलेको टोली जङ्गलमा लुकेर बस्ने क्रममा गाँजा ल्याएका तस्करहरुले प्रहरी माथि गोली प्रहार गरेको उनले जानकारी दिए । ‘तस्करहरुले फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो,गौतमले भने, ‘दोहोरो भिडन्तमा तस्करहरुले सात राउण्ड र प्रहरीले १९ राउण्ड फायरिङ गरेको थियो ।
फायरिङ गर्दै पिछा गर्ने क्रममा तस्करहरुले ल्याएको २२ बोरा (५४६ केजी) गाँजा र दुई बोरा (४५ केजी) चरेश बरामद गरेको उनले बताए । ‘प्रहरीमाथि गोली प्रहार भएपछि बाध्य भएर प्रहरीले जवाफी फायरिङ खोल्न बाध्य भएको हो’,गौतले भने ।
लागूऔषधसँगै मनहरी गाउँपालिका वडा नम्बर– ७ बस्ने १६ बर्षका दिपेन्द्र राई, मनहरी गाउँपालिका–६ बस्ने २९ बर्षका सुरेश स्याङ्तान, मनहरी गाउँपालिका–८ बस्ने १८ बर्षका कृष्ण तामाङ र राक्सिराङ गाउँपालिका वडा नम्बर–८ काँकडा बस्ने ३६ बर्षका गोपाल ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।