२०७३ चैत्र १५ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता पक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको ध्यानाकर्षण गराएपछि निर्वाचन आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको छ ।
सरकार र मन्त्रीहरुबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न एमाललेले मंगलबार निर्वाचन आयोगमा पुगेर लिखित ध्यानाकर्षण पत्र दर्ता गराएको थियो ।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार एमालेले ध्यानाकर्षण बुझाएपछि आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको हो । ‘हामी अध्ययन गरिरहेका छौ र गृहमन्त्रालयलाई स्पष्टीकरण पत्र पनि पठाएका छौ’आयोगले आफूलाई दिएको जवाफ उघृत गर्दै नेम्वाङले भने ।
उपनेता नेम्वाङ,प्रमुख सचेतक भानुभक्त ढकाल,पूर्वमन्त्री अग्नी खरेल,नेता राजन भट्टराई,राजेन्द्र पाण्डेको प्रतिनिधिमण्डलले आयोगमा ध्यानाकर्षण पत्र दर्ता गराएको थियो । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले कञ्चनपुरको पुनर्वास आनन्दबजार घटनाका पीडितलाई हेलिकोप्टर प्रयोग गरी पार्टीका तर्फबाट राहत चेक दिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
‘सरकारी खर्चमा हेलिकोप्टर चढेर पार्टी काम गर्नु आचारसंहिताको ठाडो उल्लंघन हो’एमालेले भनेको छ । बजेट र नीति तथा कार्यक्रममा नपरेका कार्यक्रममा रकमान्तर गरेर व्यापक रुपमा सरकारले निकासा गरेको आरोप पनि एमालेले लगाएको छ ।
म्यादी प्रहरी नियुक्तिलाई वस्तुनिष्ठ र पारदर्शी बनाउन अनुगमन गर्न आयोगसँग एमालेले माग गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीले मात्रै आयोगको अनुमतिमा हेलिकोप्टर चढन पाउने व्यवस्था रहेको एमाले नेताहरुलाई जानकारी गराएको छ ।